काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । घुस डिल गरेकोसम्बन्धी अडिओ सार्वजनिक भएका मन्त्री गुप्ता सोमबार बिहान करिब पौने ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तासँग यसबारे कुराकानी गर्न लागेका हुन् । प्रधानमन्त्रीले मन्त्री गुप्तालाई पदबाट राजीनामा दिन भन्ने र नमाने बर्खास्तको तयारी गरेको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ ।
मन्त्री गुप्ता नेकपा (एमाले) का सांसद र केन्द्रीय सदस्य पनि हुन् ।