काठमाडौं । एएफसी वुमन्स एसियन कप छनोटअन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई ८–० ले हराएको छ । समूह ‘एफ’ अन्तर्गत नेपालले बुधबार उज्वेकिस्तानमा भएको खेलमा श्रीलंकाविरूद्ध उत्कृष्ट जित निकालेको हो ।
नेपालका लागि गीता रानाले खेलको सातौं मिनेटमा पहिलो गोल गरिन् भने खेलको २०औं मिनेटमा साम्बाले अग्रता दोब्बर पारिन् ।
४२ मिनेटमा साम्बाले नै नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरिन् । साम्बाले ४४ मिनेटमा ह्याट्रिक गर्दा नेपाल पहिलो हाफमा ४–० गोलले अघि बढ्यो।
पहिलो हाफमा चार गोल गरेको नेपालका लागि गीताले ५४ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौ गोल गरिन् भने ६२ मिनेटमा निसा थोकरले गोल गर्दा नेपालको अग्रता ६–० मा पुग्यो । ७८ मिनेटमा रेखा पौडेलले सातौं र ८९ मिनेटमा पूजा रानाले नेपालका लागि आठौं गोल गरेका थिए ।
छनोटमा यसअघि नेपालले पहिलो खेलमा लाओससँग खेलेको थियो । सावित्रा भण्डारी साम्बाले पहिलेपटक कप्तानी गरेको सो खेलमा नेपालले लाओसलाई ९–० गोलले पराजित गरेको थियो ।
नेपालका लागि कप्तान साम्बाले पाँच गोल गरेकी थिइन् । यता पहिलो खेलमा श्रीलंकाले भने आयोजक उज्वेकिस्तानसँग १०–० गोललेको हार ब्यहोरेको थियो ।
अब नेपालले शनिबार घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानलाई हराउन सके नेपाल पहिलो पटक एसियन कपमा छनोट हुनेछ । यद्यपी आजै हुने उज्वेकिस्तान र लाओसबीचको खेलले पनि शनिबारको खेललाई प्रभावित गर्नेछ ।
उज्वेकिस्तानले लाओसलाई ६ गोलले वा सोभन्द कम अन्तरले पराजित गरे नेपालले अन्तिम खेलमा बराबरी खेल पनि छनोट हुने सम्भावना हुनेछ ।