काठमाडौं । विश्व कीर्तिमानी सर्जक डा डीआर उपाध्यायको १७ औँ उपन्यास ‘आसक्ति’ लोकार्पित भएको छ। साहित्यिक पत्रकार सङ्घद्वारा बुधबार डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरिएको सो लोकार्पण कार्यक्रममा कृतिको लोकार्पण प्रमुख अतिथि डा. अमरेशकुमार सिंह, संघका अध्यक्ष राधेश्याम लेकालीसहित मन्चासिन विशिष्ट व्यक्तित्वहरू चर्चित कलाकार मदनदास श्रेष्ठ, काव्यकार खेमनाथ दाहाल, कवि शैलेन्द्र साकार, महाकाव्यकार खेमनाथ दाहाल, कलाकार उत्तम केसी, खनाल सेवा समितिका महासचिव माधव खनाल, नेपाल गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासीले सो उपन्यासको लोकार्पण गरेका थिए।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरू द्वारा सामूहिक रूपमा पुस्तकको लोकार्पण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै डा.अमरेश कुमार सिंहले कलम अबरुद्ध हुने देशमा साहित्य अबरुद्ध हुने र त्यस देशमा स्वतन्त्रता नहुने बताए। राजनीतिक वितृष्णा तथा विसंगतिलाई साहित्यकारहरूले कलमको माध्यमद्वारा व्यक्त गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘राजनीति गर्नेले झुट बोले पनि साहित्यकारले झुट बोल्दैनन् ।’ उनले साहित्यकारहरूलाई कलम नरोक्न आग्रहसमेत गरे।
सभापतिको आसनबाट बोल्दै सापस अध्यक्ष राधेश्याम लेकालीले सर्जक डा डीआर उपाध्यायको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए। डा. उपाध्यायले आठवटा विभिन्न देशहरूबाट विद्यावारिधि उपाधि हासिल गरेको, १५० भन्दा बढी सम्मान प्राप्त गरेको, १५३ वटा विश्व कीर्तिमान प्राप्त गरेको, विश्वको सर्वाेच्च उचाइमा बसेर गीत रचना गरेको, तीन दर्जन गीति एल्बम निकालेको, सयौँ लेख प्रकाशन गरेको आदि कुरा बताउँदै लेकालीले त्यसैले उनलाई विश्व कीर्तिमानी भनिएको कुरा प्रष्ट्याए।
लोकार्पित कृति ‘आसक्ति’का भूमिका लेखकसमेत रहेका काव्यकार खेमनाथ दाहालले उपाध्यायको उपन्यास आसक्ति ऋणम् कृत्वा घृतम् पिवेत उखानसँग मिल्न गएको बताए।उपन्यासभित्रका पात्रका बारेमा क्रुरता र ममता दुबै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसङ्ग कोट्याएका थिए।
कार्यक्रममा उपन्यासका सर्जक डा. उपाध्यायले पनि आफ्ना कृतिका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, खनाल सेवा समितिका महासचिव माधव खनाल, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी, गायक सन्तोष श्रेष्ठ तथा कलाकार उत्तम केसीले शुभकामना मन्तव्य राखेका थिए। शुमकामना मन्तव्यकै क्रममा कलाकार मदनदास श्रेष्ठले महिशाशुर नाटकको सानो अंश सम्वादसहित अभिनय समेत प्रदर्शन गरेका थिए।
यस्तै, गायक सागर अधिकारीले डा उपाध्यायद्वारा रचित ‘आफ्नै साथीबाट’ बोलको गीत गाएर सुनाएका थिए भने प्रवाशमा बसेर नेपाली भाषा र साहित्यको सेवा गरेका साधक विनोद खड्कालाई सम्मान गरिएको थियो।
कृष्ण भुषालले संचालन गरेको उक्त कार्यक्रममा साहित्यकार, पत्रकार र बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो।