बेइजिङ । उत्तरपूर्वी चीनको लियाओयाङ सहरमा रहेको एक रेस्टुरेन्टमा मंगलबार भएको आगलागीमा २२ जनाको मृत्यु भएको छ । बेइजिङको सरकारी प्रसारकले जनाएअनुसार उक्त घटनामा परी तीन जना घाइते भएका छन् । लियाओयाङ सहर राजधानी बेइजिङबाट करिब ५ सय ८० किलोमिटर उत्तरपूर्वमा पर्छ ।
मध्याह्न लागेको आगो झन्डै दुई घण्टापछि नियन्त्रणमा आएको थियो । चीनका राष्ट्रपति सी चिनफिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् ।
दुईतले रेस्टुरेन्टमा लागेको भीषण आगोका कारण वरपरको आकाशमा बाक्लो कालो धूवाँ देखिएको चिनियाँ टीभी सीसीटीभीले जनाएको छ । चीनमा फितलो भवन संहिताका कारण सुरक्षाप्रति अक्सर लापरबाही हुने गरेको बताइन्छ । यसै महिना पनि उत्तरी चीनको हेबेई प्रान्तमा रहेको एक वृद्धाश्रममा भएको आगलागीमा २० जनाको मृत्यु भएको थियो ।
त्यसैगरी, गत जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । त्यसको एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा रहेको एक निर्माणस्थलमा भएको आगलागीमा ९ जनाको मृत्यु भएको थियो ।