काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा रिर्पोटिङ गरिरहेका पत्रकार सुरेश रजकलाई आगोले जलाएर हत्या गरिएको समाजवादी प्रेस संगठनको ठहर छ ।
उक्त रहस्यमय घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय आयोगको माग गर्दै आज रत्नपार्कको शान्तिवाटिकामा संगठनले मौन सभाको आयोजना गर्यो ।
सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्वकार्यवाहक अध्यक्ष रमेश विष्टले उक्त घटनामा आयोजक संस्थाका नवराज सुवेदी र दुर्गा प्रसाईंमाथि संगठनले ज्यान मुद्दा जाहेरी दर्ता गर्न सुझाव दिए ।
त्यसैगरी सुरेश रजकका दाजु दिनेश रजकले सुरेशको विभत्स तरिकाले हत्या गरेर पत्रिकाले छोपेको अवस्थामा उनको शव फेला पर्नुले पनि यो घटना रहश्यमय भएको बताउँदै अपराधीहरुले घटनाको वास्तविकता लुकाउन सुरेशको हत्या गरेको र उनको क्यामेरा, मोबाइल र पर्स लुटिएको बताए ।
संगठनका अध्यक्ष शम्भु श्रेष्ठले यति ठूलो घटना घट्दा र जनधनको ठूलो क्षति हुँदा पनि सरकारले छानबिन आयोग गठन नगर्नुले घटना थप रहस्यमय भएको बताए ।
उनले भने, ‘सरकारले आफ्नो गल्ती, कमजोरी लुकाउन छानबिन आयोग गठन नगरे पनि सुरेश रजकको हत्याको छानबिन आयोग पत्रकारहरुसँग सम्बन्धित संगठनहरुले मिलेर गर्नुपर्ने बताए ।
समाजवादी प्रेस संगठनले रजकको हत्याको उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने र उनलाई सहिद घोषणा गर्नुपर्ने, स्व. पत्रकार रजकलाई न्याय दिलाउन संगठन निरन्तर लागिरहने प्रतिबद्धता पनि जनाएको छ ।
रजक हत्याको निष्पक्ष छानबिन समिति गठन गरेर न्यायको प्रत्याभूति राज्यले नदिलाएसम्म समाजवादी प्रेस संगठन नेपालले निरन्तर खबरदारी गरिरहने र यो विषयलाई राज्यले गम्भीर रुपमा नलिए थप आन्दोलनको कार्यक्रम गर्न संगठन बाध्य हुने चेतावनी समेत दिएको छ ।