काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उनकप् धर्मपत्नी नीरू श्रेष्ठलाई अभिनन्दन गरेको छ । शुक्रबार आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा आयोजित कार्यक्रममा नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा उनीहरुलाई अभिनन्दन गरिएको हो ।
३८ संस्थाहरूद्धारा अभिनन्दित कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमा र कार्यक्रम एवम् साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले श्रेष्ठलाई अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठबारे विभिन्न व्यक्तिहरूद्वारा लेखिएका आलेख र उनका विभिन्न व्यक्तित्वबारे जानकारी दिने अभिलेख समावेश गरिएको “नरेन्द्रबहादुर श्रेष्ठ ः आलेख र अभिलेख” पुस्तकको लोकार्पण पनि भयो । सो ग्रन्थको प्रधान सम्पादक प्रमोद प्रधान र सम्पादकहरूमा श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी र मुरारी सिग्देल रहेका छन् । ग्रन्थमा ८० लेखकका रचना समावेश छन् ।
सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठका जराकलाले सजिएको नयाँ वर्ष २०८२ को क्यालेन्डर पनि लोकार्पण गरिएको थियो ।
यसैगरी सर्वनामद्वारा नरेन्द्रबहादुर श्रेष्ठबारे तयार गरिएको बित्तचित्रको प्रदर्शन पनि गरिएको थियो । यस बित्तचित्रको
निर्देशन वरिष्ठ नाट्यकर्मी एवं आख्यानकार अशेष मल्लले गरेका हुन् ।
सो अवसरमा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमाले समाजलाई बाटो देखाउने सिर्जनशील व्यक्तिहरूको अभिनन्दन आफैमा महत्त्वपूर्ण कार्य भएको बताए । उनले श्रेष्ठलाई बधाई ज्ञापन गर्दै उनको सिर्जनशील जीवनको कामना गरे ।
अभिनन्दित व्यक्तित्व नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो साहित्यिक र कलायात्राको पृष्ठभूमि बताउँदै आजको दिन आफ्नो जीवनको अविस्मरणीय दिन भएको उल्लेख गरे । उनले आफ्नो जीवनमा आमा र श्रीमती दुवैको महत्त्वपूर्ण योगदान भएको पनि बताए ।
अध्यक्षको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले श्रेष्ठको व्यक्तित्व र योगदानबारे चर्चा गर्दै यो अभिनन्दन उनले समाज र देशलाई दिएको योगदानको लागि भएको बताए ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहेका वरिष्ठ समालोचक प्रमोद प्रधानले नेपाली कविता, कला, समाजसेवा र अध्यात्म यी चार क्षेत्रमा नरेन्द्रबहादुर श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताए । उनले भने, ‘उहाँलाई नरेन्द्रबहादुर बनाउनमा उहाँकि आमा र धर्मपत्नीको योगदानलाई हामीले बिर्सन हुँदैन ।’
यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले आफूले सानोमा नरेन्द्रबहादुर श्रेष्ठबाट कविता सुनेको स्मरण गर्दै आफूले उनबाट प्राप्त गरेको प्रेरणाको चर्चा गरे ।
वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईंंले पनि अभिनन्दित व्यक्तित्वलाई शुभकामना दिएका थिए ।