काठमाडौं । साहित्यिक पत्रकार संघले ४४ औं कथा दिवसको अवसरमा आज डालो रेस्टुरेन्ट, अनामनगरमा “मैनाली कथा सम्मान-२०८१” समर्पण गर्नुका साथै लघुकथा वाचन कार्यक्रमको आयोजना गर्यो । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार डा. राजेन्द्र विमलले ३० को दशकका सशक्त कथाकार रत्न कोजुलाई सो सम्मान प्रदान गरेका थिए।
सोही अवसरमा अध्यक्ष राधेश्याम लेकालीले कथाकार डा. राजेन्द्र विमललाई “भानु-तुलसीदास सम्मान” अर्पण गरेका थिए । उनलाई २०७९ वैशाख १६ गते काठमाडौंमा आयोजित नेपाल-भारत साहित्य महोत्सवमा सो सम्मान घोषणा गरिएको थियो । त्यसबेला उनी कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् ।
कार्यक्रममा प्रमुख अतिथि डा. विमलले सङ्कटको अवस्थामा रहेको देशलाई त्यसबाट मुक्त गर्ने अभिभारा नयाँ पुस्ताका सर्जकहरूमा भएको बताए ।
कथाकार ध्रुव मधिकर्मीले कथाकार कोजूको योगदानको चर्चासँगै उनीसँगका सहकार्यबारे उल्लेख गरे । चयन समितिका संयोजक वरिष्ठ समालोचक प्रमोद प्रधानले कोजूका कथाहरूमा उनी जन्मेको ठाउँका मानिसका दुखपीडा, संस्कृति र जीवनशैली उद्घाटित हुने बताए ।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”ले राजेन्द्र विमलको शालीनता र विद्वताको चर्चा गरे । कार्यक्रममा संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र कोषाध्यक्ष पद्मावती सिंहले बोल्नुका साथै कार्यसमिति सदस्य डा. दामोदर पुडासैनीले सहजीकरण गरेका थिए । सो अवसरमा कथाकारहरू लता के. सी., शान्ता तिम्सिना, इन्दिरा चापागाईँ, सत्या अधिकारी, अन्जु थपलिया, मिसु श्रेष्ठ, मन्दिरा मधुश्री र ललिता दोषीले आआफ्ना लघुकथा वाचन गरेका थिए ।