काठमाडौं । एक थिएटर नेपालले अभिनयमा रुची हुनेहरुका लागि दुई महिने कार्यशाला आयोजना गर्ने भएको छ । पछिल्लो समय अभिनय र रंगमञ्चमा रुची राख्ने यूवाहरुको संख्या बढेको देखिन्छ । तर, त्यसका लागि उचित रुपमा कार्यशाला वा अभिनयसम्बन्धी प्रशिक्षणहरु संचालन हुन नसक्दा धेरैले यस क्षेत्रमा प्रवेश गर्न पाइरहेका हुँदैनन् । त्यही कुरालाई मध्यनजर गर्दै अभिनयको कार्यशाला संचालन गर्न लागिएको एक थिएटर नेपालले जनाएको छ ।
एक थिएटरले आगामी फागुन १५ गतेदेखि कार्यशाला संचालन गर्न लागेको हो । त्यसका लागि धमाधम आवेदन संकलन भइरहेको र कार्यशालामा सहभागीहरुका लागि छनौट प्रक्रिया बढाउन लागिएको वर्कशपका संयोजक वेदना राईले जानकारी दिए । ‘अभिनयमा रुची भएका धेरै युवा पुस्ताका लागि अभिनय सिक्ने उचित थलो नहुँदा निराश हुनुपरेको हामीले देखेको छौं । उहाँहरुलाई नै लिक्षत गरेर हामीले यो वर्कशप संचालन गर्न लागेको हौं’ राईले भने, ‘वर्कशपको लागि आवेदन संकलन गर्ने काम अन्तिम चरणमा आइपुगेको छ । आवेदन संकलन गरिसक्नेवित्तिकै हामी सहभागीहरुको छनौट गरेर फागुन १५ गतेबाट वर्कशप रन गर्छौं ।’
एक थिएटर नेपालका संस्थापक समेत रहेका अनिल सुब्बाले आगामी दिनमा नियमित रुपले अभिन तथा लेखनजस्ता विधामा कार्यशाला वा प्रशिक्षणात्मक कार्यक्रमहरु संचालन गर्दै जाने बताए । ‘यो हामीले सुरुवात गरेका हौं । यसलाई नियमित रुपमा आगामी दिनमा पनि अघि बढाउँछौं’, सुब्बाले भने ‘हामीले सिंगो जीवनलाई नै अभिनयको क्षेत्रमा समर्पण गर्न आएका हौं । सकेको राम्रो गर्ने प्रयास गरिरहन्छौं ।’
हरेक दिन ४ घण्टा संचालन गरिने वर्कशपमा निर्देशक सुनिल पोखरेल, निर्देशक तथा अभिनेत्री पशुपति राई, कलाकार लुनिभा तुलाधर, निर्देशक किरण चाम्लिङ, निर्देशक तथा कलाकार प्रवीण खतिवडा, निर्देशक अनिल सुब्बा, कलाकार रुपेश लामाल गायतले प्रशिक्षण दिने संयोजक वेदना राईले जानकारी दिए । वर्कशपमा अभिनयको परिचय, रैथाने संगीत तथा नृत्य, अभिनयको इतिहास, मुभमेन्ट, एक्रोबेटिक, भ्वइस एण्ड स्पीच, जेन्डर भाइलेन्स एण्ड थिएटर एजुकेशन, क्यारेक्टराइजेशन, सीन डेभलपमेन्ट एण्ड इम्प्रोभाइजेशन, पर्फमेन्स, डिरेक्शन, योगा, बडि मुभमेन्ट लगायतका विधामा कार्यशाला केन्द्रीत रहने पनि राईले बताए । राईका अनुसार कार्यशालाको दौडानमा अभिनयको क्षेत्रमा लामे अनुभव बटुलेका कलाकार तथा सैद्धान्तिक रुपमा पनि पोख्त व्यक्तित्वहरुले अतिथि लेक्चररका रुपमा प्रशिक्षण दिने छन् ।
वर्कशपमा सहभागी हुन चाहनेहरुले अनलाइन आवेदन वा इमेल वा एक थिएटर नेपालको कार्यालयमा सिधै सम्पर्क गरेर आवेदन दिन सक्नेछन् ।