काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले करको नाममा हरेक क्षेत्रमा आतंक मच्चाएको आरोप लगाएका छन् ।
दिपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिऊरामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ । हत्या, हिंसा, लुट, भ्रष्टाचार बढदै गईरहेको छ । संगसंगै हरेक बस्तुमा प्रधानमन्त्री ओलीले करमाथि कर लगाउने र नागरिकलाई लुटने काम गरिरहेको छ । हामीभन्दा ठूलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाईकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? यहाँ ओली सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो ।’
साहले ओली सरकारले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको र निजि करछलीको नाममा निजि सम्पती लुटिरहेको आरोप लगाए । ‘अहिले सरकारी आतंक मच्चिएको छ । सरकारले सत्तारुढ दलका अपराधि, भ्र्रष्टलाई जोगाउने काम मात्रै गरेको छ । सत्तारुढ दलका नेताहरु नागै हिडदा समेत केही नगर्ने यो सरकारले छानीछानी विपक्षलाई तर्साउने र दुख दिने काम गरिरहेको छ । गाउँदेखी शहरसम्म सत्तारुढ दलको आतंक मचिएको छ । प्रहरी प्रशासन देखी सबै क्षेत्रमा सरकारी आतंकले सर्वसधारण नागरिक दुख पाईरहेका छन्’, आजपा अध्यक्ष साहले भने ।