काठमाडौं । पार्टीकै नेताले ‘नामर्द’ भनेको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत आक्रोशित भएका छन् । नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले ‘नामर्द’ हुने दिन आएको खण्डमा राजनीति नै छाडिदिने बताएका हुन् ।
बस्नेतलाई नेता ताराबहादुर खड्काले नामर्द भनेपछि उनी आक्रोशित भएका थिए । पूर्वमन्त्री बस्नेतले नेता खड्कालाई आफ्नो वडामा चुनाव जितेर देखाउनसमेत चुनौति दिए । आफूले पशुपति शमशेर र अमृतकुमार बोहरालाई समेत हराएको स्मरण गराउँदै उनले भने, ‘आज मलाई मनै नपर्ने शब्द यहाँ आइलाग्यो– नामर्द । म इतिहासमा नामर्द कहिल्यै थिईनँ, नामर्द हुन्न, नामर्द हुने दिन आयो भने म राजनीति पनि गर्दिनँ । गर्दै गर्दिनँ । पशुपति शमशेर र अमृतकुमार बोहरालाई एकै ठाउँमा हराउने मान्छे म । म नामर्द हुन्छु ? अहिले मलाई २ नम्बर क्षेत्र पठायो, इतिहासमा त्यहाँ कहिल्यै चुनाव जितेकै थिएन कांग्रेसले । १२ हजार मतान्तरले मैले चुनाव जितेको छु । म नामर्द हुन्छु ? मेरो पालिका, वडाको कुरा गर्नुहुन्छ भने चुनावमा म बस्नै पर्दैन । मलाई मञ्चमा नामर्द भनिहाल्नुभो । ताराजी सजिलो भएको भए तपाईँको वडा पनि त चुनाव जित्थ्यो होला नि । तपाईको पालिका पनि चुनाव जितिन्थ्यो होला नि ? सजिलो काम छैन यो । गफ दिएरमात्रै हुँदोरहेनछ ।’
फरक प्रसंगमा उनले आफू स्वास्थ्यमन्त्री भएको बेलामा गरेको कामको बेलिबिस्तार सुनाए । उनले भने, ‘मैले सुर्तीजन्य पदार्थमा कर बढाऔं, बास्केट फन्डमा पैसा राखौं, यसमा २०औं, २५औं अर्ब पैसा हुन्छ, यसले देशभरीका अस्पतालहरुमा गरिब र विपन्नका लागि निःशुल्क उपचार गराउने फन्ड व्यवस्था गरौं भनेर प्रकृया अगाडि बढाउँदा हाम्रै अर्थमन्त्री ज्यान गए मान्दैनन् । हुँदोरहेछ के भने जनकपुर चुरोट कारखाना खाइदिने सूर्य टोवाले प्रेसर गर्छ, अनि कर बढाउनै नमान्ने।’