November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख सहयोग

1.4K

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज बुधबार रु ५१ लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो ।

उक्त अवसरमा अध्यक्ष डा केसीले हालैको बाढी, पहिरो र डुुबानको खबरले आफूहरु मर्माहत भएको भन्दै संघको तर्फबाट एक करोड बराबरको राहत उपलब्ध गराएको र सो क्रम जारी रहेको बताए । अध्यक्ष डा केसीले ‘एनआरएन नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको भन्दै सम्बन्धित निकायलाई परिपत्र गरिदिन पनि ध्यानाकर्षण गराए ।

Advertisement

अध्यक्ष डा केसीले बेलायतस्थित भूतपूर्व गोर्खाहरुले उठाउँदै आएके समान पेन्सन र अधिकारको माग सम्बोधन गर्न मन्त्रीस्तरीय संवाद गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सो अवसरमा अध्यक्ष डा केसीले आगामी २७ र २८ अक्टोबरमा आयोजना गर्न लागिएको ‘एनआरएन डे’ विशेष कार्यक्रम तथा ग्लोबल कन्क्लेभको लागि निमन्त्रणा पनि दिए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा संघलाई धन्यवाद दिँदै एकपटकको नेपाली सँधैको नेपाली हुने भएकोले संविधानले दिएको राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार दिन कुनै समस्या नभएपनि दोहोरो नागरिकता समस्याको समाधानका लागि भने गम्भीर छलफल आवश्यक पर्ने उनको भनाई थियो । यस्तै भूपू गोर्खाको समस्या समाधानका लागि सरकार सचेत रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले संघको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै संघलाई राजनीतिक आधारमा नभई सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा अघि बढाउन सुुझाव दिए ।

कार्यक्रममा अध्यक्ष केसीसहित, उपाध्यक्षद्वय रामशरण सिम्खडा, रोजिना प्रधान राई, कोषाध्यक्ष सुदन थापा, सहकोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सना, एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई, क्षेत्रीय महिला उपसंयोजक अमेरिकाज इन्दिरा त्रिपाठी, आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, अर्जुन गुरुङ, सल्लाहकारहरु अतुल कोइराला, ओम गुरुङ, पूर्व डिआरसी रामसी पोखरेल लगायत एनआरएन अभियन्ताहरु, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायत उपस्थित थिए ।