प्रेमको परिभाषा शब्दकोषमा भेटिए पनि कुनै शब्दहरुले पुरक हुन्छ जस्तो लाग्दैन । प्रेम केबल दुई शब्दले बनेको हुँदो हो, तर यसको अर्थ र महत्व बृहत् छ । प्रेमले हराउछ पनि र जिताउछ पनि ।
ठ्याक्कै यसको व्याख्या शब्दबाट गर्न सकिदैन होला जस्तो लाग्छ । अर्थ पनि लगाउन सकिदैन । किनकी प्रेम त महसुस हो ।
मैले यो प्रसंग किन जोड्न चाँहे भने सँधै प्रेम र समाजिक मुद्दालाई टेकेर गीतसंगीतको सिर्जना गर्ने यशकुमार पछिल्लो समय झनै प्रेमिल बन्दै गएको अनुभुति हुन्छ । अर्थात् अझ बढी प्रेमले भरिएका गीत दर्शक श्रोतामाझ पस्कन थालेका छन् ।
यसअघि अन्तरजातिय प्रेम सम्बन्धका प्रसंगलाई जोडेर तयार पारिएको यशकुमारको म्युजिक भिडियो ‘तिमी छौ र त’ खुब रुचाइएको थियो । बाहुन पुरुष र लिम्बुनीबीचको प्रेम देखाइएको उक्त भिडियो ताप्लेजुङमै छायांकन गरिएको थियो। जुन भिडियोलाई ५४ लाखपटक हेरिएको छ । अहिले त्यसैको दोश्रो भाग ‘आँखा बन्द गरेर’ सार्वजनिक भएको छ । उनकै संगीत र गायनमा रहेको यो म्यूजिक भिडियोमा प्रेमले भरिएको जीवन अनि विछोडपछि विक्षिप्त बनेको मनलाई देखाइएको छ ।
एउटा मान्छेको प्रेमिल साथले जीवन बाँच्न बिर्सिएको मान्छेलाई पुनः बाँच्ने हौसला दिन्छ भन्ने भाव गीतको म्युजिक भिडियो मार्फत देखाइएको छ । जीवनबाट हारिसकेको मान्छेलाई निस्वार्थ माया गर्ने मान्छेको दर्बिलो साथले जीवनको एउटा कालखण्डमा पुगेर जित्न सिकाउछ भन्ने भाव व्यक्त गरिएको छ ।
निर्मल मगरको शब्द रहेको यस गीतमा शब्द जस्तै मिठो संगीत भरिएको छ भने गीतको भावअनुसारको कथा र कथालाई न्याय गर्ने दमदार अभिनय छ । यस भिडियोको निर्देशन निकेश खड्का र सम्पादन बिकाश धमालाले गरेका हुन् ।
‘आँखा बन्द गरेर’ गीतमा लिम्बु (याक्थुङ)लयलाई याक्थुङ भाषामै फ्युजन गरिएको छ, जसले गीतलाई झनै सुमधुर बनाएको छ । जसको शब्द, स्वर र संगीत साहिल लिम्बुको रहेको छ ।
भिडियोको कथामा लिम्बू समुदायको संस्कारसँग जोडिएको दृश्यले पनि केही क्षण तान्छ । चासोक मेलाको दृश्य देखिने यस भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन्।
बेहिसाब प्रेम गर्ने मान्छेलाई गुमाउनुपर्दाको पीडा र छट्पटीले मन चसक्क दुख्छ । गीतको कथामा बाँधिएको दृश्यको अन्तिम भाग अर्थात चोखो माया गर्ने मान्छे गुमाउदाको पीडा झेलेर बाँच्ने प्रेमिकाको लागि पनि पुनः भाग-३ आँउछ होला भन्ने खुलदुली भने ल्याएर छोड्छ ।
समग्रमा भन्नुपर्दा यो हेर्नेहरूका लागि पक्कै म्युजिक भिडियो होला, तर एउटा सिंगो फिल्मभन्दा कम छैन । भिडियोमा आएका अधिकांश प्रतिक्रियाहरू पनि यस्तै छन् ।
भिडियोमा यशकुमारसहित अनु थापा, प्रेम सुब्बा र राजेश घतानीको अभिनय रहेको छ । यस्तै गायनमा शशिका राईले पनि साथ दिएकी छिन् ।