March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

केपी ओली दुनियाँले पत्याएको नेता हुनुहुन्छ: शंकर पोखरेल

1K

काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओली दुनियाँले पत्याएको नेता भएको टिप्पणी गरेका छन् । मंगलबार गृहजिल्ला दाङमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाज बुझेको नेतामा आफ्नो पार्टीका अध्यक्ष ओलीमात्रै भएको बताएका हुन् ।

महासचिव पोखरेलले भने, ‘नेपालका राजनीतिक दलमध्ये नेपाली समाजलाई बुझेको, इतिहासको जानकारी राख्ने र भविष्यका निम्ति योजना बनाउन सक्ने सक्षम नेतृत्वका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली रहनुभएको छ। दुनियाँका नाम चलेका विश्वविद्यालयले आज केपी ओलीको प्रवचन सुन्न चाहेका छन् । अध्यक्ष ओली दुनियाले पत्याएको नेता हुनुहुन्छ तर हाम्रो समाज केपी ओलीको आलोचना नगर्ने हो भने राजनीति गर्नुको के अर्थ छ भन्ने शैलीमा भर्खर राजनीति सिक्न लागेको मान्छेले पनि आफू चर्चामा आउन अध्यक्ष ओलीको विरोध गर्ने प्रवृत्ति र गलत परम्परा नेपाली समाजमा हुर्कन लागेको छ ।’

नेपालमा अब सानातिना पार्टी राखेर समाजवाद नआउने पनि उनले ठोकुवा गरे । उनले भने, ‘समाजवादको यात्रामा लाग्ने हो भने सानातिना दोकान बन्द गर्नुपर्दछ, यसले मात्रै मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माण हुनसक्छ र त्यसको जगमा मात्र समाजवादको आधार तयार हुन्छ भन्ने सच्चाइलाई बुझ्नुपर्दछ, हामीहरू एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेका छौं ।’

Advertisement

यस्तै, अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार बनेपछि समाजमा केही आशा पलाएको पनि उनले दाबी गरे । उनले भने, ‘उद्योगी व्यवसायीहरू आशावादी बनेका छन्, मुलुकको आर्थिक अवस्थामा सुधारका लक्षणहरू देखापर्न थालेका छन्, निरन्तर रूपमा ओरालो लागेको मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढ्ने सङ्केत देखापरेको छ, मुलुकको राजश्वमा वृद्धि हुन लागेको छ ।’