बेलायत । नेप्लिज लेडिज ग्रुप आस्फोर्ड यूकेको आयोजनामा कफी मर्निङ्ग च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार आस्फोर्डस्थित सगरमाथा टाउन हलमा कार्यक्रम सम्पन्न कार्यक्रममा आमन्त्रित पाहुनाहरूलाई संस्थाका अध्यक्ष जया राईले स्वागत गर्दै सहभागीहरूलाई धन्यवाद दिएकी थिइन्।
नेप्लिज लेडिज ग्रुपले नेपालमा पढिरहेको र पढ्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावमा परेका अनाथ, असहाय बालबालिकाहरूलाई उच्च शिक्षामा टेवा पुगोस् भनेर ‘च्यारिटी कफी मर्निङ्ग’ आयोजना गरिएको आयोजकको भनाइ छ ।
कार्यक्रमबाट प्राप्त रकम ९६० पाउण्ड अविभावकवीहिन बालिका अविना सुनुवारको पढाइ खर्चको लागि नेपाल पठाउने अध्यक्ष राईले बताइन् ।
केही समयदेखि अविनाको पढाई खर्च नेप्लिज लेडिज ग्रुपले दिदै आइरहेको छ ।
कार्यक्रममा संस्थाका सदस्यहरूले स्वस्फुर्त ढंगले चिया, कफी, जुस लगायत स्वादिष्ट नेपाली परिकारहरुको प्रायोजन गरेका थिए । यसैगरी सहभागीहरूलाई उत्साहित गर्न भाग्यचिट्ठा (राफल ड्र) अन्तर्गत पहिलो विजेता देवकी चोङबाङ, दोस्रो धनमाया राई र तेस्रो मिनी राईले आकर्षक उपहारहरू प्राप्त गरेका थिए ।
भाग्यचिट्ठा (राफल ड्र) कार्यक्रम लेडिज ग्रुप युकेको सदस्य मेरी राईले सञ्चालन गरेकी थिइन । उक्त कार्यक्रम आयोजनाको लागि सगरमाथा गोर्खा नेपाली समाज आशफोर्डका अध्यक्ष डम्बर सिंघक लिम्बूले हल निःशुल्क उपलब्ध गराएका थिए ।
सन् २०१६ सालमा गठित नेप्लिज लेडिज ग्रुपमा १७ जना सदस्यहरू रहेका छन् । उनीहरूले हरेक महिना पाँच पाउण्ड रकम संस्थामा जम्मा गर्ने गरेका छन् । अहिलेसम्म नेपालको ६० भन्दाबढी असाहय वालबालिकाहरूलाई आर्थिक सहयोग गरेको छ ।
हरेक तीन/तीन महिनाको अन्तरालमा नेप्लिज लेडिज ग्रुपले उदेश्यमूलक कफी मर्निङ्ग गर्दै आइरहेको उक्त संस्थाको संस्थापक सदस्य रेवन्ती देवानले बताइन् ।