लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमला सेन्दाङ निर्वाचित भएकी छन् । १३ र १४ सेप्टेम्बरमा हन्स्लो लन्डनमा सम्पन्न ११ औं महाधिवेशनअन्तर्गतको निर्वाचनबाट ४ सय ३९ मतसहित कमला अध्यक्षमा निर्वाचित भएकी हुन् ।
उनको निकटतम प्रतिस्पर्धी गणेश इजमले ३ सय ४९ र अमृता पालुङ्वाले ८५ मत प्राप्त गरेकी थिइन्।
यस्तै कियाचु यूकेको उपाध्यक्षहरुमा शान्ताकुमार हुक्पा चोङबाङ, दिपेन्द्र याक्सो र राजेन लाबुङ निर्वाचित भएका छन् । शान्ताले ४ सय ४ मत, दिपेन्द्र ३ सय ९०, राजन ३ सय ७७ र अर्का प्रतिस्पर्धी विजय लिङ्देनले ३ सय १५ मत प्राप्त गरेका थिए । महिला उपाध्यक्ष सानु सुब्बा भने निर्विरोध निर्वाचित भएकी हुन् ।
महासचिवमा विश्वासदीप तिगेला निर्वाचित ४ सय १५ मतसहित निर्चाचित भएका छन् । उनका प्रतिस्पर्धी जुरेन्द्र खजुमले ३ सय ९८ मात्रै मत ल्याएका थिए।
यस्तै, सचिवमा महेशकुमार वनेम निर्वाचित भए । उनले ३ सय ८० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लाहाङ चेम्जोङले ३ सय ४४ मत ल्याएका थिए । महिला सहसचिवमा शकुन्तला नेम्बाङ निर्विरोध चयन भइन् ।
कियाचु यूकेको कोषाध्यक्षमा खगेन्द्र लावती निर्वाचित भएका छन् । उनले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी धनकुमार काम्बाङले ३ सय ३४ मत प्राप्त गरेका थिए । सहकोषाध्यक्षमा सबिता लाबुङ लिम्बु निर्विरोध चयन भइन् ।
निर्वाचन मण्डलको अध्यक्षमा मेजर रिटायर्ड चितराज चोङबाङ, सदस्यहरू ले. रि सिरी लिम्बु, दुर्गा पाङ्ममा र सचिव नर थाम्सुहाङ रहेका थिए ।
निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन मण्डल अध्यक्ष चोङ्बाङ्ले लिम्बु भाषामा पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
सन् २००३ मा स्थापित चुम्लुङमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित भएकी हुन् ।