काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपसभामु ईन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बठकले प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने सत्ता रुढ दलहरुको तयारीलाई नेकपा (एकीकृत समाजवादी) ले अस्विकार गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
बैठकले सातै प्रदेशमा महाधिवेशन आगामी मंसिरसम्ममा गरिसक्ने जसका लागि हाल कायम रहेको प्रदेश कमिटीले उक्त सम्मेलन सम्पन्न गर्ने छ ।
बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौँमा असोज ५ गते सभाको आयोजना गर्ने निर्णय समेत गरेको उपमहासचिव भट्टराईको भनाई छ।कार्यविभाजन, आयोग, विभाग गठनका बारेमा अध्यक्ष, सम्मानित नेता, वरिष्ट नेता, वरिष्ठ उपाध्यक्ष र महासचिव रहेको ७ सदस्यीय कार्यदल बनेको छ।कार्यदले कार्य विभाजन,आयोग र विभाग गठनको तयारी गरेर अर्को बैठकमा प्रस्ताव पेश गर्ने भट्टराइले बताए । पार्टीभित्रका असन्तुष्टीहरुसँग बारम्बार छलफल भइरहेको र उनीहरुलाई राखेर थप छलफल गरिने भट्टराईले बताए ।
सत्तारूढ एमाले र कांग्रेसले दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया अघि बढाउने तयारी थालेका छन् । सोही प्रयोजनका लागि एमाले र कांग्रेसले संसद्हरुलाई असोज ३ सम्म उपत्यका नछाड्न ह्वीप जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नै उपसभामुखविरुद्ध ‘पदीय अनुकूलको आचरण नभएको’ प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएका थिए । तर दुई तिहाइ अनिश्चित र कांग्रेसमा आन्तरिक मतभेद देखिएपछि तत्कालका लागि प्रक्रिया रोकिएको थियो ।
संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख र उपसभामुख पदबाट मुक्त हुने तीन वटा अवस्था उल्लेख गरीएको छ । प्रतिनिधिसभाको सदस्य नरहेमा, लिखित राजीनामा दिएमा र पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने व्यवस्था छ ।