March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौं : रास्वपा

770

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भएपनि स्पष्टीकरणको मौका दिनुपर्ने बताएका हुन् ।

१८ महिना अगाडीको प्रकरण अहिले निकालिएको भन्दै झाले अहिले निकाल्नुको कारणबारे सत्तारुढ दलहरुलाई प्रश्न गरे ।

उनले भने, ‘१८र१९ महिना पहिला एउटा पत्रमा उहाँको हस्ताक्षर देखियो जुन पत्र सम्बन्धित मन्त्रालयमा दर्ता पनि भएको छैन । सम्बन्धित ठाउँमा पुगेको पनि छैन । भिसाको लागि अनुरोध पत्र थिएन । अन्तर्वाताको लागि अनुरोध पत्र थियो । त्यतिखेर कार्यक्रमको समय धेरै नजिक आइरहेको थियो त्यसैले म लगायत मेरो टोलीलाई अलि चाँडै अन्तर्वाताको समय दिनसक्छौँ कि भनेर अनुरोध पत्र हस्ताक्षर भयो । जुन गलत भयो फेरि । त्यसमा हामीले सही थियो । कुनै गल्ती थिएन भनिरहेका छैनौँ । त्यो दुरुपयोग भएको हो । तर त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर किन राखियो ? एउटा प्रश्न हाम्रो । यस्तै कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न पाइन्छ कि भनेर लुकाएर राखिएको होला नि । यदि गलत थियो भने त १८ महिना अगाडी नै गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यसैले उहाँहरुको इमान्दारितामा र दाउपेचमा प्रश्न । नयाँ गठबन्धन बनेपछि यो सान्दर्भिक भएको हो ? त्यो बेला सान्दर्भिक थिएन भन्ने हाम्रो प्रश्न हो ।’

Advertisement

उनले आफूहरु सत्तारुढ दलहरुको आगामी कदमहरुलाई नियालिरहेको भन्दै उनीहरुको कदम अनुसार आफ्नो कदम निर्धारण गर्ने बताए ।

उनले भने, ‘उहाँहरुले कस्तो कदम लिनुहुन्छ त्यस अनुसार छलफल गर्नेछौँ । पर्ख र हेर को अवस्थामा छौँ । तर अर्को कुरा सरोकार छ, आक्रामक रुपमा हामी तयार छौँ । आएको परिस्थितिलाई कसरी सामना गर्ने, त्यसलाई कसरी प्रतिकार गर्ने र कसरी त्यसमा हामीले कार्य गर्ने भन्नेकुरामा पूर्ण तयारी र सरोकार छ ।’

उनले आफूहरु उपसभामुखको रक्षाका निम्ति तयारी अवस्थामा रहेको बताए ।