काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का सांसद पदम गिरीले संसद्को गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानामगरले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले उपसभामुख रानाले संसद् बाहिरका व्यक्तिहरुलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दूतावासमा पत्र लेख्नुले संसद्को गरिमामा आँच पुगेको बताएका हुन् ।
उनले उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको र लज्जित बनाएको टिप्पणी गर्नुका साथै उपसभामुखले पदीय मर्यादाअनुरुप काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
उनले भने, ‘उपसभामुखले यो संसद्को गरिमालाई बचाउनका निम्ति पनि आफ्नो पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्दा यो संसदको गरिमा उँचो हुन्छ । सिंगो संसद्को मर्यादाको निम्ति उहाँले यो कदम चाल्नुपर्छ ।’
अमेरिकाको न्युयोर्क सहरमा महिलाहरुको एउटा कार्यक्रममा जानको निम्ति वैदेशिक रोजगार व्यवसायीहरुको मिलेमतोमा संसद् बाहिरका ४÷५ जना मान्छेहरुलाई आफ्नो लेटरप्याड प्रयोग गरेर दूतावासमा पत्र लेखेर उपसभामुख रानामगर दूतावास धाउने कुराले सिगो संसद्को गरिमामा आँच आएको उनको भनाइ थियो ।
उपसभामुख रानामगरको राजीनामा माग्नु कुनै प्रतिशोधको कुरा नभएको सांसद गिरीले दाबी गरे ।