लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को निर्धारित विशेष महाधिवेशन लामो रस्साकस्सीपश्चात अन्ततः हुने भएको छ । आगामी जनवरी २३ र २४ मा संघको विशेष महाधिवेशन गर्ने तयारी भइरहँदा कार्यसमितिबाटै केही असन्तुष्टिका आवाजहरु आउन थालेपछि त्यसलाई सम्बोधन गर्न निकै समय लागेको थियो ।
“प्रस्तावित विधान संशोधन प्रस्ताव पनि सर्वसम्मतले पारित भएको, तर प्रस्तावित बुँदाहरुउपर आवश्यक छलफल र निर्णयहरु विशेष महाधिवेशनमै हुनेछ” – संघका प्रवक्ता डी. बी. क्षेत्रीले नेपाल मामिलालाई बताए ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गत बुधबार बसेको बैठकले पूर्वप्रवक्ता भूषण घिमिरे र उपाध्यक्ष मन केसीद्धारा प्रस्तुत विधान संशोधनको साँझा प्रस्तावलाई आगामी अधिवेशनमा लैजाने निर्णय गरेको हो ।
बैठकमा गैर-आवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले संघको बृहत्तर हितको लागि सहमतिमा अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
बैठकमा अर्का सल्लाहकार टिबी कार्कीले निर्वाचन पछि सत्तापक्ष र विपक्षको जस्तो मानसिकता त्याग गर्नु पर्ने सुझाव दिए । यसअघि संघको विधान संशोधन सुझाव समितिले आफ्नो प्रतिवेदन संघका अध्यक्ष कुमार पन्तलाई बुझाएको थियो ।