April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरूको डिजाइनमा कांग्रेस–एमाले समीकरण निर्माण भयो: पुन

690

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको स्पष्ट पारेका छन् । सोमबार नेपालगन्जमा पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताएका हुन् ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरूको डिजाइनमा कांग्रेस–एमालेले रातारात समीकरण निर्माण गरेको पनि उपमहासचिव पुनले आरोप लगाए । सरकारले जनताको पक्षमा काम गरेकै कारण सरकारबाट बाहिरिँदा पार्टी पङ्क्तिको मनोबल उच्च भएको उनको भनाइ थियो ।

पुनले सातवटै प्रदेशका परामर्श बैठक सकिँदै पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको पनि दाबी गरे । अब एकताबद्ध भएर सडक र सदनबाट सङ्घर्ष गर्ने बताउदै उनले भने, ‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ । हामी जनताको एजेन्डामा एकजुट सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौँ, सङ्घर्ष गर्छौँ ।’ 

Advertisement

मुलुकको राजनीतिमा बिचौलियाको संरक्षण गर्ने, भ्रष्टाचार र राज्य दोहन गर्ने र सुशासनका लागि त्यस्ता प्रवृत्तिहरूसँग सङ्घर्ष गर्नेहरुबिचको ध्रुवीकरण पैदा भएको टिप्पणी पुनले गरे । उनले भने, ‘बिचौलियाहरूको पक्षमा सरकार छ । हामी तिनीहरूलाई पराजित गर्नुपर्ने पक्षमा छौँ । हामीले सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष गरेका थियौँ । माओवादीले सरकार छाडेपछि पनि हाम्रो पङ्क्ति किन उत्साहित छ र उच्च मनोबल किन छ भन्दा सामाजिक न्याय र सुशासन लागि जनताको आकाङ्क्षाका अनुसार काम गरेका छौँ ।’ 

सरकारबाट बाहिरिएपछि पुराना संसदवादी पार्टीहरू एकातिर र आफूहरू अर्कोतिरजस्तो भएको पनि पुनले बताए । माओवादी पनि पुराना पार्टीहरूजस्तै भयो भन्ने गुनासाहरू थिए र खबरदारीहरू रहेको भन्दै उनले आफूहरूका अगाडि काँग्रेस–एमालेभन्दा फरक हौँ भन्ने मौका आएको तर्क गरे । उनले भने, ‘अब हामीलाई पुराना पार्टीहरूभन्दा फरक हौँ भनेर पुष्टि गर्ने मौका आएको छ । आफ्नो धार बोकेर अगाडि बढेका छौँ । सुशासनको, सामाजिक न्यायको, गरिखाने जनताको र उत्पीडित  वर्गको आवाज र एजेन्डाको नेतृत्व हामी गर्छौँ ।’