काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो।
यसअघि पार्टी महामन्त्रीको भूमिकामा रहेका ढकाललाई पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोपमा पार्टीको महामन्त्रीबाट हटाइएको थियो ।
रास्वपा अनुशासन आयोगको सिफारिसमा पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।ढकाललाई पार्टीको हितविपरीतको गतिविधिमा कारबाही गर्न अनुशासन आयोगले यथेष्ट प्रमाणहरु केन्द्रीय समितिलाई बुझाएको कार्यवाहक प्रवक्ता झाको भनाइ छ ।
निष्काशित महामन्त्री ढकाललाई रास्वपाले यसअघि पटक–पटक स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको प्रत्येक स्पष्टीकरणको जवाफमा उनी सभापति रवि लामिछानेमाथि जाइ लागेका थिए । लामिछानेको दोहोरो नागरिकता, दोहोरो राहदानी र सहकारी ठगीमा कारबाही हुनुपर्ने कुरा उनले उठाउँदै आएका थिए ।