April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

हर्षोल्लासका साथ सम्पन्न भयो ऐतिहासिक चतरा साहित्यक जमघट -२०८१

4.5K

भौतिक निर्माणसँगै साहित्यको विकासमा पनि उत्तिकै सचेत छुः प्रमुख अतिथि होमप्रसाद गौतम

साहित्यिक भूमि बराहक्षेत्रको चतरामा हर्षोल्लासका साथ ऐतिहासिक चतरा साहित्यिक जमघट –२०८१ सम्पन्न भएको छ । हिजो चतरा साहित्यिक मञ्चद्वारा आयोजित सो साहित्यिक जमघट बराहक्षेत्र –२ को वडाकार्यालयमा सम्पन्न भएको हो ।

कार्यक्रममा कवि गगन योक्पाङ्देनको कविता कृति ‘केवाफुङको गीत’माथि वार्तालाप भएको थियो । ‘दावँले कविहरुमाझ कवि गगन योक्पाङ्देन र केवाफुङको गीत’ नाम दिएको सो वार्तालापलाई कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले सहजीकरण गरेका थिए भने वक्ताहरु कवि अमित थेवे र छ्बिना लुङ्गेली मगर रहेका थिए ।

“म दावाका साथ भन्छु, ८० बाट बजारमा आएका कृतिहरुको अब्बल कृतिहरुको अन्तिम ५ सूचिमा पर्ने किताब हो यो । केवाफुङको गीतले पहिचानको मुद्दालाई बुलन्द गरेको छ । तर आक्रोश सरि हैन बडो बिम्ब खेलाएर । कविको खुबी भनेको चै त्यो हो”, अमितले थपे ।

Advertisement

अर्का वक्ता कवि छविना लुङ्गेली मगरले केवाफुङको गीतभित्रका कविताहरुले आफू धेरै ठाउँ भावुकिएको बताइन् । यो कृतिले देश, माटो र संस्कृतिलाई जुरुक्कै बोकेको बताइन् । “अझ एउटा पुरुष कविले यति गहिरिएर नारी समवेदनालाई न्याय गरेको देख्दा म आफै छक्क छु । ४/५ वटा कविताले त हुरुक्कै भएँ । यो मानेमा पनि केवाफुङको गीत पढ्नु पर्छ”, वक्ता छबिनाले धारणा राखिन् ।

कवि गगन योक्पाङ्देनले कविता लेखन भिरबाट जमिनमा लड्दै झर्ने ढुङ्गा जस्तै रहेको बताए । “ठोक्किएर, लडेर जसरी ढुङ्गाले खास आकार लिन्छ त्यसरी नै कविताको निम्ति धेरै लेखेपछि मात्र कविता जस्तो बन्छ । ‘एक राष्ट्रिय झण्डाको इज्जत र ‘छोरीको चकचक’ शीर्षक कविता बारेको जिज्ञासामा उनले भने”, “राज्यले किन रोजगारी दिदैन ? आफ्ना नागरिकलाई शरणार्थी बनाउछ, दलालहरुलाई हरेक अपराधमा छुट हुन्छ , शक्तिको दुरुपयोग गर्छ, शासकहरु देश आफ्नै पेवा ठान्छ, दलित, आदिवासी, मजदुर,गरिव, दुखी जनता के गर्दैछ ? कस्तो जीवन बाच्दैछ तब निराशता नपलाउने कुरै भएन नि ? अनि राष्ट्रिय झन्डाको इज्जत कहाँ छ ? पटक्कै चित्त बुझ्दैन नि !”

यस्तै जमघटको अर्को सेसनमा धनकुटाका कवि रोशन परियारको ‘एकल कविता वाचन’ रहेको थियो । कवि रोशन परियारले ‘सिक्का र नोट’, ‘ए कान्छा’, ‘याद आयो भने’, ‘धन्यवाद’ लगायतका सात वटा कविता वाचन गरेका थिए ।
“म प्राय मन्दिरमा बस्छु
मेरा आफन्त नै भगवान हुन्छन्
हजुर घर घरमा बस्नु हुन्छ
हजुरका आफन्त नै प्राय दुश्मन हुन्छन्

नभुल्नुहोला
हजुर म भन्दा हजार गुणा ठूलो हुनु हुन्छ
तै पनि एकै पटकमा च्यातिनु हुन्छ
म हजुर भन्दा हजार गुणा सानो छु
तर हजार पटकमा पनि च्यात्न सक्दैनन् मलाई

म माटाको खुत्रुकेमा पनि सुरक्षित हुन्छु
हजुर बैंकको बाकसमा पनि असुरक्षित हुनुहुन्छ

मेरो औकात नभए कै कारण हजुरको रवाफ बढेको हो
मेरो हैसियत नभए कै कारण हजुरको दबाब बढेको हो

माफ गर्नुस्
गाढालाई ‘गाढा’ भन्न पनि फिक्का चाहिन्छ
नोटलाई ‘नोट’ भन्न पनि सिक्का चाहिन्छ ।”
(सिक्का र नोट)

कवि रोशनलाई स्थानीय कविहरु सीताराम चन्द्रवङ्शी ‘समीर’ र सबिना बानियाँले ‘नोक्कर’ र ‘नमस्कार’ शीर्षकको कविता वाचन गर्दै साथ दिए । सो सेसनका वक्ता प्रल्हाद पहरेदारले रोशन परियारका कविता बहुआयामिक र समाजलाई सतमार्गमा डो¥याउन अब्बल रहेको बताए । विरोध र न्याय माग्ने शैली कस्तो हुनुपर्छ ? त्यो रोशन परियारको कविताले सिकाएको बताए ।

सो साहित्यिक जमघटलाई राजेश परियारले साङ्गीतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । यस्तै कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र वार्ड नम्बर–२ का वडाअध्यक्ष होमप्रसाद गौतमले यो साहित्यिक भुमिमा निरन्तर साहित्यिक गतिविधिले आफू मख्ख भएको बताए । उनले एक प्रसङ्गमा आफू कला र साहित्यप्रति समर्पित रहेको बताए । भौतिक पुर्वाधारका विकाससँगै प्राज्ञिक विकासमा पनि आफू सचेत रहेको बताए । उनले भने, “यो पल्ट वडाको तर्फबाट पनि साहित्यको निम्ति बजेट व्यवस्थापन गर्ने तयारीमा छु । चतरा साहित्यिक मन्चको विकासको निम्ति नगरदेखि वडापालिकासम्म अहम भूमिका निर्वाह गर्ने छु ।”

कार्यक्रममा स्वर्णिम साहित्य समाजका उपाध्यक्ष शरण लिम्बु, कवि सुष्मा दाहाल, गजलकार रोमु अधिकारी शुभकामना मन्तव्य राखेका थिए ।

मञ्चकी सचिव वर्षा भण्डारीले सन्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य मन्चका उपाध्यक्ष सुजन बस्नेतले राखेका थिए भने सभाध्यक्ष मन्चकी अध्यक्ष दीपा मग्राती रहेकी थिइन् ।