काठामाडौं। साहित्यकार चन्द्र मादेन आन्छनका कथासङ्ग्रह ‘आन्छनका कथाहरू’ र ‘माधुर्य सुशील तिम्रो बोली’ गीतिसङ्ग्रह एकसाथ लोकार्पित भएका छ्न् ।शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमवीच कृतिहरूलाई लोकार्पण गरिएको हो ।
मनोहरा साहित्य समाजद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि कुलपति भुपाल राई रहेका थिए । आन्छनका कृतिबारे बोल्दै उनले आन्छले धेरै कथाहरूमा आफ्नै अनुभव लेखेको हुन सक्ने बताए । कथाहरू नपढेको हुँदा कथाबारे बोल्न सक्ने सामार्थ्य नरहेको उल्लेख गर्दै कुलपति राईले भने, ‘वहाँको कथासंग्रह प्राप्त नभई म यहाँ उभिएको छु । कथा नपढेको हुँदा वहाँको कथाबारे केही भन्ने सामर्थ्य राख्दिनँ । तर, संसारमै कथा लेखनको ईतिहास हेर्दा धेरै अगाडि कसैले अर्काको कथा लेख्थे । पछिल्लो कालक्रममा आफ्नो कथा आफै लेख्ने क्रम बढिरहेको छ । र, मलाई लाग्छ चन्द्र मादेनले धेरै जसो आफ्नै कथा लेखेक छन् ।’
यस्तै कुलपति राईले अक्षरको मोह हुनेले अतिरिक्त मोह नपाल्ने भन्दै विशुद्ध सर्जकहरू मतिभ्रष्ट नहुने दाबी गरे । ‘जो विशुद्ध सर्जक छ, उनीहरू मतिभ्रष्ट हुँदैनन्। तपाइहरू सबैलाई थाहा छ, नेपाल जर्जर भएकै आर्थिक भ्रष्टाचारले हो। आर्थिक भ्रष्टाचार कसरी न्यूनीकरण गर्ने होला ? भन्ने सोच्दा मानिसको दिमाग पहिला सफा गर्नुपर्छ भन्ने लाग्छ ।’ मानिसको दिमाग सफा गर्ने काम सिर्जनाले गर्ने उनको भनाइ थियो ।
जवाफमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले ‘मतिभ्रष्ट’ साहित्य पढ्न पाइने बताए । उनले भने, ‘ठुलाठुला विषयमा ठुला मान्छेले बोलेको विषयमा पनि अलिक फरक विचार राख्नुपर्ने हुँदोरहेछ । यो साहित्यले मति भ्रष्ट गर्ने कि नगर्ने भन्ने कुराहरूमा साहित्यकार मतिभ्रष्ट हुन्छ कि हुँदैन तर मतिभ्रष्ट गर्ने साहित्यहरू चाहीँ हुन्छ/जन्माइन्छ भन्ने मान्यता म बोक्छु ।’
आन्छनका कृतिमाथि समिक्षात्मक टिप्पणी गर्दै डा. तुलसी भट्टराईले देशको माया नगर्नेहरुले, पैसा र पहुँचको धाक दिनेहरुले, समाज सकारात्मक दिशातर्फ कसरी जाने भन्नको लागि, प्रेरणादायक वाक्यहरुको लागि यो कृति पढ्नै पर्ने बताए भने अर्का समीक्षक प्रगति राईले कथामा पात्रको भूमिका धेरै नराखेता पनि सललल वगेको पढ्दै जाँदा पाठकलाई कौतुहल र रहस्यमय लाग्ने बताइन् ।
कार्यक्रममा ‘माधुर्य सुशील तिम्रो बोली’ गीतलाई प्रमुख अतिथि भुपाल राईद्वारा स्वीच अन गरि सार्वजनिक गरिएको थियो । राजेश पायल राईको स्वर रहेको यस गीतलाई खोटाङका नवीन राईले संगीत तथा संगीतसंयोजन गरेका हुन् ।
मनोहरा साहित्य समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव भावकेशर बरालले गरेका थिए । अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष जसध्वज गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
लोकार्पण समारोहमा वरिष्ठ साहित्यकार राजेश्वर थापा, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपी कृष्ण प्रसाई, संविधान सभाका सदस्य एवं नेकपा माओवादी जेष्ठ नागरिक समितिका अध्यक्ष नन्द कुमार प्रसाई, पाथिभरा क्षेत्र विकास समिति र भानु माविका पूर्व अध्यक्ष डिल्लिजङ मादेनसहितले आन्छनद्वारा लिखित नँया पुस्तकको सयुक्त लोकार्पण गरेका थिए ।
कार्यक्रममा पूर्व राज्य मन्त्री विष्णु तुम्वाहाम्फे, पूर्व प्रतिनिधि सभासद यज्ञराज सुनुवार, नागरिक समाजका अध्यक्ष एवं पूर्व विराटनगर नगरप्रमुख ध्रुव नारायण श्रेष्ठ, वकिल समूह लाहुर्निपका अध्यक्ष दिनेश घले, प्रा.डा. विनोद मन्जन, नेपाल टेलीभिजनका समाचार प्रमुख वद्रीकाजी गुरुङ, राष्ट्र सेवक एवं पूर्व न्यायाधीश राजेन्द्र श्रेष्ठ, वकिल एवं शिक्षावीद तुलाराम गुरुङ, साहित्यकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
लोकार्पित कृतिका स्रष्टा चन्द्र मादेनले आफू ज्यादै खुशी भएको भन्दै सबैप्रति आभार प्रकट गरेक थिए।