April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ: गगन थापा

910

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरुकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ ।’

सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर काँग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई आग्रह गरे ।

Advertisement

उनले २०८४ सम्म काँग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

महामन्त्री थापाले काँग्रेसले ०८४ मा कम्तिमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माण लाग्ने बताए । उनले भने, ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमोल, माओवादी, घण्टी, बण्टी, जो—जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बनाऔँ । धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तिमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यि कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली काँग्रेसले राख्छ । त्यस्तो तागत भएको पार्टी नेपाली काँग्रेसलाई बनाउनु पर्छ ।’