काठमाडौं। टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । जितका लागि १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउदै पराजित भएसँगै नेपाल इतिहास रच्नबाट चुकेको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो ।
उक्त लक्ष पछ्याउँने क्रममा नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, अनिल साहले २४ बलमा २७ रन जोडे । उनले ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे ।
खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।
अफ्रिकन टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाएका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हाने ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए ।
प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ ।