कामाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुने भएका छन् । छिमेकी मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुख उपस्थित हुने समारोहमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंगेलगायत नेताले सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड र हसिना दुवैले यसअघि भारतीय प्रधानमन्त्री मोदीलाई १८औँ लोकसभा चुनावमा एनडिएको विजय प्रदर्शनका लागि बधाई दिएका थिए ।
प्रधानमन्त्री मोदी र नेपाली प्रधानमन्त्री दाहालसँग फोनमा शुभकामना प्रदान तथा शपथग्रहणमा निमन्त्रणाको कुरा भएको स्रोतले जनाएको छ ।
भारतमा सन् २०२४ को लोकसभा चुनावको मतगणना मंगलबार सम्पन्न भएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले दुई सय ४० सिट जितेको छ, जुन सन् २०१९ को तीन सय तीन सिटभन्दा निकै कम हो। यसले सरकार गठनका लागि गठबन्धनको सहयोग आवश्यक हुनेछ ।
अर्कोतर्फ, मुख्य विपक्षी कांग्रेसले सन् २०१९ को चुनावमा ५२ सिट जितेकोमा हाल ९९ सिट जितेर संसदमा विपक्षी स्वरलाई सशक्त बनाउने सुनिश्चितता गरेको छ ।