March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

बेलायतका अग्रज अभियन्ता आङ कलजङ लामाको निधन

1.1K

लण्डन । बेलायतको नेपाली समुदायका अभियन्ता आङ कलजङ लामाको निधन भएको छ । प्रवासी नेपाली मञ्च (तत्कालिन नेपाली लोकतान्त्रिक मञ्च) यूकेका संस्थापक अध्यक्ष ५७ वर्षीय लामाको मंगलबार काठमाडौंमा असामयिक निधन भएको हो ।

काठमाडौं बौद्धमा मर्निङ वाकमा निस्किएका बेला ढलेर बेहोस भएका लामालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको थियो । आधिकारिक रिपोर्ट प्राप्त नभइसके पनि लामालाई ह्दयघात भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

एनआरएनए यूकेका पूर्व उपाध्यक्ष एवं संस्थापक सदस्यसमेत रहेका स्व: लामा प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको सल्लाहकार परिषदका वर्तमान सदस्य हुन् ।

Advertisement

केही समयदेखि नेपालमा रहेर प्रपर्टी व्यवसायमा सक्रिय उनी विगत तीन महिनादेखि नेपालमै थिए ।

तीन दशकभन्दा अघि बेलायत आएका स्व: लामा यहाँका नेपाली समुदायका एक अग्रज हुन् । उनका श्रीमती र दुई छोरा बेलायतमै बस्दै आएका छन् ।

उनको असामयिक निधनले बेलायतको नेपाली समुदाय मर्माहत बनेको छ ।

प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुषालले संगठनका संस्थापक अध्यक्षको असामयिक निधनमा दुख व्यक्त गरेका छन् । उनले बेलायतमा संगठन निर्माणमा लामाले निर्वाह गरेको भूमिका सदैव स्मरणीय रहने उल्लेख गरे ।

त्यस्तै, मञ्चको अन्तरराष्ट्रिय कमिटीका निवर्तमान अध्यक्ष भक्त गुरुङले पनि लामालाई सबैसँग मिल्न सक्ने खुबी भएका मिलनसार र इमान्दार अभियन्ता भन्दै बेलायतको नेपाली समुदायमा उनले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

उनको अन्त्येष्टि काठमाडौंमै गरिने बताइएको छ। उनको अन्त्येष्टिमा भाग लिन उनकी श्रीमती तथा छोरा छोरी नेपाल आएका छन् ।

स्वर्गीय लामा एक मिलनसार, सहृदयी र  समाजसेवी व्यक्तित्व भन्दै सामाजिक संजालमा श्रद्धान्जली दिने क्रम जारी छ।