November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरूद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

1.9K

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरूद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ। कांग्रेस गण्डकी संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा मंगलबार रिट दिएका हुन्।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्ण धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेका थिए।

नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेश लगायतको आदेशका लागि भन्दै कांग्रेसले सर्वोच्चमा रिट दिएको हो।

Advertisement

जसमा सभामुख धिताल, मुख्यमन्त्री अधिकारी र गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको छ। सर्वोच्चले यस रिटमा वैशाख २७ गतेका लागि पेशी तोकेको छ।

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए। त्यस दिन प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए।

मुख्यमन्त्री अधिकारीका पक्षमा ३० मत खसेको थियो भने विपक्षमा २७ र राप्रपाका दुई सांसद तटस्थ बसेका थिए।