काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन पहल गर्ने बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ । सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।’
उनले नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको बताए । उनले भने, ‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु।’
प्रधानमन्त्री प्रचण्डले युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलबाट निरन्तर छलफल भइरहेको जानकारी दिए ।
रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौँमा धर्ना दिएका थिए ।
प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसीले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो ।