काठमाडौं । सेवारो कलाकार संघ युकेले चार श्रष्ठालाई सम्मान गरेको छ । संघले आसफोर्ड केन्टमा यक्वा तङ्नाम मनाउँदै फेदाङमा पदम सम्बाहाम्फेद्वारा अनुष्ठान गरी चार श्रष्ठालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा साहित्यकार शान्ति खिम्दिङ, यालाङ गायिका दिलु लिम्बु, कलाकार तथा साहित्यकार लीला सेलिङ मावो र पत्रकार तथा साहित्यकार नरेन्द्र नेम्बाङ छन् ।
बेलायत बसेर नेपाली र याक्थुङ लिम्बु भाषा, साहित्य, गीत संगीत र संस्कृतिको प्रवद्धनमा योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको सेवारो कलाकार संघ युकेका अध्यक्ष दुर्गा पाङ्माले बताइन् । उनले भनिन्, ‘याक्थुङ लिम्बु परम्पराअनुसार खेतबारीमा अन्नवाली लगाउने बेलामा अन्नबाली राम्रो होस भनी प्रकृतिको पूजा अर्चना गर्दै मनाइने यक्वा तङ्नामको अवसरमा श्रष्ठाहरुलाई सम्मान गरिएको हो ।’
सन् २०१२ मा स्थापित संघले बेलायतमा छरिएर रहेका याक्थुङ लिम्बु लेखक, कवि/साहित्यकार, कलाकारहरुलाई संगठित गरी याक्थुङ कला संस्कृतिको जर्गेना गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि फेदाङ्मा पदम सम्बाहाङफे, संघका उपाध्यक्ष विमला लिम्बु, संस्थाका संस्थापक अध्यक्ष काजीमान यक्सो, मगर संघ युकेकी अध्यक्ष सीता पुन, सगरमाथा नेपाली समाजका अध्यक्ष डम्बर सिङगक, मिस्टर नेपाल विजेता तथा मोडल रोहित थेबेलगायतको उपस्थिति थियो ।
थाक्थुङ चुम्लुङ धरानकी पूर्वअध्यक्ष समेत रहेकी सानु सुब्बाले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा कलाकार भक्ति आङदेम्बे, दिलु मादेन, माक्सोती ओख्राबो, राजेन नेम्बाङ, डम्बर हुक्पाचोङबाङ्, दीप केरुङ, जीता पाङमा, रीता फोम्बो ठुली, पूर्ण कुमारी लिम्बु लगायतले च्याब्रुङ (केलाङ), हाक्पारे, थाक थाक्मा, ताम्के साम्लो प्रस्तुत गरेका थिए ।