April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

सरोकारवालाहरू भन्छन्, “सहकारी समस्यामा पात्र दोषी कि सिद्धान्त ?”

1.5K

काठमाण्डौं । सरोकारवालाहरुले सहकारी क्षेत्रमा देखिएका समस्याको भागिदार सहकारीको नीति सिद्धान्त कि पात्र दोषी भन्ने पर्गेल्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड पुल्चोकमा सहकारी समन्वय सञ्जालको ५२औं बैठकमा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

उनीहरुले सहकारी क्षेत्रमा देखा परेका यावत खाले समस्यालाई उचित ढंगबाट पहिचान गरी समाधान गर्न राज्य र सहकारीको समन्वयात्मक भूमिका हुनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा सहकारी विभागका रजिष्टार पिताम्बर घिमीरेले सहकारी क्षेत्रमा देखिएका समस्याको भागेदार सहकारीको नीति सिद्धान्त कि पात्र दोषी हो पर्गेल्नुपर्ने बताएका हुन्। बैठकमा बोल्दै घिमिरेले सहकारीमा देखा परेका यावत खाले समस्यालाई उचित ढंगबाट पहिचान गरी समाधान गर्नुपर्ने बताए । उनले फलाम तातेको बेलामा हाने मात्र उचित आकार ग्रहण गर्ने भन्दै सहकारीहरुको अहिलेको अवस्था पनि त्यस्तै भएकोले सहकारीको नीति सिद्धान्त मूल्य मान्यतामा समस्या हो कि संचालकका रुपमा रहेका पात्रहरुको समस्या हो, पहिचान गर्नुपर्नेमा उनको जोड थियो ।

Advertisement

समाजवाद उन्मुख अर्थतन्त्रको पहिलो खुड्कीलो, पूँजीवादको चंगुलबाट भुईमान्छेहरू जोगाउने सहकारी क्षेत्रमा आएका यावत खाले समस्याले राम्रा काम गरेका सहकारीहरुप्रति पनि हेर्ने दृष्टिकोण बदलिएको भन्दै सहकारी सरकार र सिंगो सरोकारबालाहरुको सहकार्य र समन्वय जरुरी भएको बताए ।

उनले विभागले सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका खातिर अनुगमन प्रक्रिया सुरु गरेको बताउदै यसमा सबै पक्षको साथ र सहयोगको अपेक्षा रहेको बताए ।

राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवि मल्लको अध्यक्षतामा बसेको बैठकमा विभागका रजिष्टार घिमीरेसहित पशु सेवा विभागका रजिष्टार डा. उमेश दाहाल, नेपाल बचत तथा ऋण सहकारीका चन्द्रप्रसाद ढकाल, नेपाल सूचना तथा सञ्चार सहकारीसंघ लिमिटेडका मनकुमारी जिसी, नेपाल मौरी पालन केन्द्रीय सहकारी संघका जानुका थापा, नेपाल केन्द्रीय उपभोक्ता संघका चन्द्रबहादुर ठकुरी, नेपाल नगरपालिका संघका कलानिधि देबकोटा लगायतका वक्ताहरुले सहकारी क्षेत्रमा समसामयिक मुद्दा, चुनौति र समाधानमा सहकारी र सरकारको साझा अभियान र प्रतिबद्धता जरुरी भएको भन्दै केही कमजोरीका कारण समग्र सहकारी क्षेत्र बदनाम भएको प्रति चिन्ता जाहेर गरेका थिए ।

वक्ताहरुले धारणा राख्ने क्रममा सहकारी ऐन ०७४ कार्यान्वयनमा ढिलाई भएको साथै सहकारीलाई सहकारीको सिद्धान्त विपरीत कम्पनी र फेमीली मोडलबाट चलाउन खोज्दा पनि समस्या आएको बताएका थिए ।

उनीहरुले सहकारीको सिद्धान्त विपरित अवैध सहकारीले अवैध ठाउँमा लगानी गर्दा पनि समस्या आएको बताएका थिए ।

बैठकले केही सहकारी संस्थाले सदस्यहरुको बचत फिर्ता गर्न नसक्दा सहकारी क्षेत्र नै बदनाम हुने जोखिम बढ्दै गएकोले सम्बन्धित संस्थाको लगानी असुली तथा जायजेथा बेचविखन गरी सदस्यहरुको बचत फिर्ता एवं ऋणीहरुले भुक्तानी गर्नुपर्ने ऋण रकम असुुली कार्यमा सहजीकरण गर्न सम्बद्ध सबै पक्षलाई आव्हान गर्ने निर्णय गरेको छ ।

यस्तै सहकारी क्षेत्रमा देखिएको गलत प्रचारबाजीलाई निराकरण गर्दै आम समुदायलाई आस्वस्त पार्नका लागि सहकारीले उत्पादन वृद्धि, वित्तिय सेवा प्रवाह, रोजगार सृजना गर्न तथा सामाजिक सशक्तिकरणमा पुर्‍याएको योगदानको प्रचारप्रसार गर्दै सहकारीको जनप्रियता वृद्धि गर्न संजालमा आवद्ध निकाय तथा संघसंस्थाहरुले विभिन्न प्रबन्धनात्मक कार्य गर्ने समेत निर्णय गरेको छ ।

यस्तै आगामी वार्षिक निति तथा कार्यक्रममा सहकारी क्षेत्रमार्फत उत्पादन वृद्धि, रोजगार सृजना तथा गरिबी निवारणका लागि ठोस नीति योजना र कार्यक्रम सहकारी महासंघद्वारा पहल कदमी गर्ने निर्णय गरेको छ ।