काठमाडौं। नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता तथा प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीसमेत रहेका मनमोहन अधिकारीको २५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ ।
अधिकारीको स्मरणमा आज नेकपा एमाले लगायतका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछन् ।
जसअन्तर्गत मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी छिन्।भण्डारीले ‘मनमोहन अधिकारी जीवनगाथा’को विमोचन गर्ने कार्यक्रम रहेको छ । यस्तै, ‘ज्येष्ठ नागरिक देश दर्शन २०८१’ को शुभारम्भ कार्यक्रम सुरुवात गर्ने कार्यक्रम रहेको छ ।
वि.सं. १९७८ सालमा काठमाडौंमा जन्मिएका नेता अधिकारी को २०५६ वैशाख १३ गते निधन भएको थियो । उनको चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघातबाट निधन भएको थियो ।
उनी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्षका रूपमा चिनिन्छन् ।
नेता अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामहरु चर्चित छन् । उनको नेतृत्वको सरकारले वृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो भने आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम ल्याएको थियो ।