काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन आवश्यक रहेको बताएका छन् । कोइरालाले उक्त प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनीसमेत दिएका छन् ।
मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘सुशासन सिकाउने पार्टी र उक्त पार्टीका सभापति सहकारी ठगीमा छन् । गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न दिन्नौँ ।’
कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको दाबीसमेत गरे । कांग्रेस बाहेक अरु कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गर्दै उनले पहिचान चाहनेहरूले कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई मत दिनुपर्ने बताए ।
नेता कोइरालाले भने, ‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरू विराटनगर जानुभएको थियो, मैले उहाँहरूलाई पहिचानको मुद्दामा म संवेदनशील रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ । अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईँ सबैलाई थाहा नै छ ।’
उनले अन्य दलहरू आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन भन्ने कुरा लिएर हिँडेका उल्लेख गरे ।