April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काङमाङ नरेश राईको पुस्तक ‘पानी पतिया’ लोकार्पण 

865

काठमाडौं । लेखक काङमाङ नरेश राईको पुस्तक ‘पानी पतिया’ लोकार्पण भएको छ। आइतबार मण्डला थिएटरमा सम्पन्न कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो ।

गोर्खा भर्तीबारे लेखिएका ऐतिहासिक तथा अनुभूतिपरक निबन्धहरू समेटिएको ‘पानी पतिया’लाई मुन्धुम अध्येता भोगीराज चाम्लिङ, राजनीतिकर्मी मानुषी यमि भट्टराई तथा समीक्षक गुरुङ सुशान्तले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

विमोचनपछि बोल्दै अध्येता चाम्लिङले यस पुस्तक अध्ययन, अनुभव र अनुभूतिको त्रिवेणी भएको बताए। पुस्तकले गोर्खा भर्तीको इतिहास मात्र नभई भर्ती भएर जानेहरूले बेहोरेको दुःख पनि थाहा हुने उनले बताए।

Advertisement

उनले २ सय वर्षको इतिहास खाँदेर निबन्धहरू लेखेको दाबी गरे । उनले समाजमा लाहुरेलाई हेर्ने तीनवटा ब्रिटिशले हेर्ने, गैरलाहुरेले हेर्ने र लाहुरेले हेर्ने दृष्टिकोण भएको बताए। तर यो पुस्तक गैरलाहुरेले गोर्खा भर्तीलाई हेर्ने दृष्टिकोणबाट लेखिएको लेखकको दाबी छ ।

यस्तै, पुस्तकमाथि बोल्दै राजनीतिकर्मी मानुषी भट्टराईले पुस्तकमा गोर्खा भर्तीको इतिहास मात्र नभएर उनीहरूले अहिले संगठित हुनुपरेको अवस्था र मागका विषय पनि किताबमा आएको बताइन्। इतिहास लेखनको भाषा सरल भएका कारण कलेजका विद्यार्थीले पनि सहजै बुझ्न सक्ने उनको भनाइ थियो। उनले भनिन्, “हामी वीर नेपाली भनेर गर्व गर्छौं। त्यो भाष्य गोर्खाहरूका कारण बनेको हो। यो पुस्तकले वीर नेपाली भाष्यको पछाडि लुकेको पीडालाई उजागर गरेको छ।”

समीक्षक गुरुङ सुशान्तले पुस्तक ‘दुख्नेले लेख्ने’ दृष्टिकोणबाट लेखिएको बताए। उनले भने, “सामाजिक न्यायको मुद्दामा दुख्नेले लेख्ने कि देख्नेले लेख्ने भन्ने हुन्छ। पहिलो अनुभूतिबाट लेखिन्छ। दोस्रोमा अनुसन्धान र तथ्य आउँछ । उहाँ आफैँले गोर्खामाथि भएको अन्याय सहनुभएको छ। त्यसैले यो पहिलो दृष्टिकोणबाट लेखिएको छ।”

आफ्नो पुस्तकबारे बोल्दै लेखक काङमाङले युद्ध साहित्य पहिचानको आन्दोलन भएको बताए। पहिलो र दोस्रो विश्वयुद्धमा गएर जो फर्किएनन् तिनीहरुको खोजी पनि युद्ध साहित्यले गर्ने उनको भनाइ थियो। “ती मानिस हराउनुको पीडा परिवारलाई छ। ती मान्छेबारे न नेपाल सरकारले खोज्यो न त बेलायतले नै जानकारी दियो,” उनले भने, “त्यसैले यो आन्दोलनले जन्मिएको किताब हो र यसको आवाज ठूलो छ।”

यो पुस्तकलाई फिनिक्स बुकले बजारमा ल्याएको हो। १९१ पृष्ठको पुस्तकको मूल्य ४९९ रुपैयाँ छ।