April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

साकेलामा देशकै नमूना काम भएको पाएँ: शेरधन राई

2.2K

साकेला । नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले साकेला गाउँपालिकाले गरिरहेको विकासका कामहरु देशकै नमूना भएको बताएका छन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत बनेका राईले साकेला गाउँपालिकाभित्र सञ्चालन भईरहेका योजना तथा परियोजनाहरु नमूना तरिकाबाट निर्माण भईरहेको पाएको बताएका हुन् ।

विहीबार राईले साकेला गाउँपालिकामा निर्माण भईरहेका विभिन्न योजनाहरुको अनुगमन गरेका थिए । साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई लगायत निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले मुख्यमन्त्री राईलाई स्वागत गरेपश्चात निर्माणाधिन प्रशासकीय भवन, मानेभञ्ज्याङ पार्क लगायतका योजनाहरु प्रत्यक्ष अनुगमन गरेका थिए ।

सो क्रममा बोल्दै मुख्यमन्त्री राईले साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पाँचधारे सडक आफ्नै कार्यकालमा प्रदेश सरकारबाट योजना पारेको बताउदै सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘अब यो सडकलाई कालोपत्रे गर्ने गरी योजना उपलब्ध गराउन पहल गर्नेछु । करिव ३० किलोमिटर लामो उक्त सडक कालोपत्रे भए दिक्तेल–भोजपुर र तराईका जिल्ला सम्म सहज यातायातको पहुँच विस्तार हुनेछ ।’
त्यस्तै, साकेला गाउँपालिकाले गौरवको योजनाको रुपमा राखेको तावाभञ्ज्याङ क्षेत्रमा निर्माण हुने तावाताल, साँस्कृतिक बस्ती र किराँत, वौद्ध र हिन्दुहरुको धार्मिक पार्क साकेला गाउँपालिकाको मात्र नभएर देशको उत्कृष्ठ योजना भएकाले सो योजना जसरी पनि सुरुवात गरेर सम्पन्न गर्नुपर्ने मुख्यमन्त्री राईले जीकिर गरे । गाउँपालिकाले सजाएको समृद्धिको सपना सोही स्थानमा बन्ने संरचनाहरुले पुरा गर्ने बताउँदै उनले सो योजना कार्यान्वयनमा लैजान आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । साकेला गाउँपालिकाले अघि सारेको महत्वकांक्षी योजनाहरु सम्पन्न गर्न संघ तथा प्रदेश सरकारसमक्ष पहल गरिदिने आश्वासन राईले दिएका छन् । उनले साकेला गाउँपालिकाले आवधिक योजना बनाएर काम सुरु गरेकोमा धन्यवाद समेत ज्ञापन गरे ।

Advertisement

यसैबीच, साकेला गाउँपालिकाले बनाएको आवधिक योजना अनुसार अघि बढाउनुपर्ने भौतिक विकास, पर्यटन, खानेपानी, कृषि, सरसफाई लगायतका विभिन्न योजना कार्यान्वन गरि बजेट व्यवस्थापन गरिदिन गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले अनुरोध गरे । विभिन्न मन्त्रालय तथा विभागद्धारा कार्यान्वयन हुने बजेटको लागि अध्यक्ष राईले मुख्यमन्त्री राईसमक्ष मागपत्र पेश गरेका छन् । गाउँपालिकाले पेश गरेको मागपत्रको बारेमा आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापनको लागि पहल गरिदिने मुख्यमन्त्री राईले आश्वासन दिएका छन् ।