April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरमा विद्यालय, सडक लगायतको नाम रैथाने भाषामा राख्ने अभियान संचालन गरिने

लेखनाथ सिकारु
२०८० चैत्र २९

1.5K

पाँचथर । लिम्बू जातिहरुको सर्वाेच्च संस्था किरात याक्थुङ चुम्लुङ पाँचथरले विद्यालय, नवनिर्मित सडक, सामुदायिक वन, संघसंस्था आदिको नाम रैथाने भाषा, सँस्कृति र स्थानीय युगपुरुषहरुको नामबाट नामाकरण गराउन अभियान सञ्चालन गर्ने भएको छ । १३ बुँदे फिदिम घोषणापत्र जारी गर्दै चुम्लुङले भाबी योजनाका बारेमा जानकारी गराएको हो ।

चैत २३ र २४ गते फिदिममा सम्पनन ९औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिले फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले गर्ने आगामी कार्यक्रम तथा प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा ताप्लेजुङ जिल्लामा अवस्थित याक्थुङ आदिवासीहरुको परम्परागत साँस्कृतिक आध्यात्मिक पवित्र स्थल सेमुक्तु मुक्तुबुङ, मुक्कुमलुङ अतिक्रमण गरी पाथिभरा बनाइएको र हाम्रो साँस्कृतिक धरोहरलाई दलाल पूँजीपतिहरुको व्यापारिक केन्द्र बनाइ नीजि बनाउने नियतका साथ केबलकार निर्माण गरी धार्मिक स्थलमाथि बलात् हस्तक्षेप गर्ने कुचेष्टा गरिएकोमा घोर भत्र्सना गर्दै, त्यसबिरुद्धको आन्दोलनमा ऐक्यबद्धतासहित जस्तोसुकै कदम उठाउन पान्थर जिल्ला तत्पर रहेको भनिएको छ ।

Advertisement

यस्तै याक्थुङ (लिम्बू) भाषालाई प्रदेश लगायत पाँचथरका सबै स्थानीय तहमा सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन सशक्त पहल गर्ने, मातृभाषा शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन शिक्षक दरबन्दी सृजना गरी पदपूर्ति गर्न, अन्य सेवा सुविधाको व्यवस्था गर्न सबै पालिकामा दबाबमूलक अभियान संचालन गर्ने कुरा उल्लेख छ ।

यस्तो छ घोषणापत्रको पूरा बिवरण ः
१, विधि, प्रकृया र लोकतान्त्रिक पद्दती मिचेर २०७९ फागनु १७ गते गैरसरकारी विधेयक पेश गरी चोरी दाउमा पास गरिएको कोशी प्रदेश नाम खारेज गरी ऐतिहासिक पहिचानजनित भौगोलिक नामका आधारमा लिम्बुवान किरात प्रदेश पुनः नामांकन गर्न, गराउन आन्दोलनमा सशक्त सहभागिता जनाउने प्रतिबद्धता जाहेर गर्दछ ।

२. ताप्लेजुङ जिल्लामा अवस्थित याक्थुङ आदिवासीहरुको परम्परागत साँस्कृतिक आध्यात्मिक पवित्र स्थल सेमुक्तु मुक्तुबुङ, मुक्कुमलुङ अतिक्रमण गरि पाथिभरा बनाइएको र हाम्रो साँस्कृतिक धरोहरलाई दलाल पूँजीपतिहरुको व्यापारिक केन्द्र बनाइ नीजि बनाउने नियतका साथ केबलकार निर्माण गरी धार्मिक स्थलमाथि बलात् हस्तक्षेप गर्ने कुचेष्टा गरिएकोमा घोर भत्र्सना गर्दै, त्यसबिरुद्धको आन्दोलनमा ऐक्यबद्धता सहित जस्तोसुकै कदम उठाउन पान्थर जिल्ला तत्पर रहेको कुरा जाहेर गर्दछौं ।

३.याक्थुम (लिम्बू) भाषालाई प्रदेश लगायत पान्थरका सबै स्थानीय तहमा सरकारी कामकाजको भाषा मान्यता दिन सशक्त पहल गर्ने । मातृभाषा शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन शिक्षक दरबन्दी सृजना गरी पदपूर्ती गर्न, अन्य सेवा सुविधाको व्यवस्था गर्न सबै पालिकामा दबाबमूलक अभियान संचालन गर्ने ।

४. याक्थुङ भाषाको संरक्षण र प्रवद्र्धन गर्न समुदाय स्तरमा “आनी पाःन पारी अभियान” संचालन गर्ने । भाषा अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने । याक्थुङ भाषा साहित्य सम्बन्धी सेमिनार तथा प्राज्ञिक गोष्ठी तथा कार्यक्रमहरु संचालन गर्ने । याक्थुङ भाषी स्रष्टाहरुलाई प्रोत्साहित गर्ने कार्यक्रमहरु संचालन गरिनेछ ।

५ जिल्लाका सबै अतिक्रमित रैथाने स्थाननाम, ऐतिहासिक, धार्मिक, साँस्कृतिक स्थलका नामहरुलाई सच्याई पुनःस्थापना गर्न र उपनिवेशिकरण हुनबाट संरक्षण गर्न अभियान संचालन गरिनेछ ।

६. समुदायमा निहीत रैथाने मौलिक ज्ञान, सीप र प्रविधिको संरक्षण र प्रवद्र्धनका लागि विशेष कार्यहरु गरिनेछ ।

७. विद्यालय, नवनिर्मित सडक, सामुदायिक वन, संघ संस्था आदिको नाम रैथाने भाषा, सँस्कृति र स्थानीय युगपुरुषहरुको नामबाट नामाकरण गर्ने गराउने अभियान संचालन गरिनेछ ।

८. युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्दै उद्यमशील बन्न, उद्यम गर्न र आत्मनिर्भर तथा स्वावलम्बी हुन अभिप्रेरित गर्न कार्यक्रमहरु संचालन गरिनेछ । उद्यमशीलताको माध्यमबाट समृद्धिको यात्रा तर्फ लम्किन अभिप्रेरित गरिनेछ ।

९. बालबालिका, बृद्ध तथा भिन्न क्षमताका व्यक्तिहरु लक्षित कार्यक्रमहरु संचालन गरिनेछ ।

१०.बिभिन्न पेशागत संघ संगठनहरु गठन गरी समुदायको हितमा उपयोग गर्न र अरुलाई अभिप्रेरित गर्न गराउन कार्यक्रमहरु संचालन गरिनेछ । यी संगठनको माध्यमबाट मुलुक र मुलुकबासीको हित र राष्ट्रनिर्माणको लागि योगदान दिन अभिप्रेरित गरिनेछ ।

११. याक्थुङ प्राज्ञिक संघ गठन गरी ज्ञान निर्माण तथा विस्तार गर्न विशेष कार्यक्रमहरु संचालन गरिनेछ ।

१२.याक्थुम शिक्षक संघ, याक्थुङ व्यवसायी संघ जस्ता संस्थाहरूको स्थापना गरिने छ ।

१३. याक्थुङ समुदायमा बढ्दो भड्किलो संस्कृतिलाई न्यूनिकरण गराई मौलिक परम्परा अनुसार निरन्तरता दिनेछ ।