April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

घोटाला गरेको आरोपमा भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्ड

2.2K

भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय भएको छ । बीबीसीका अनुसार बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

घरजग्गाको कारोबार गर्ने संस्था भान थिन्ह फाटकी अध्यक्ष समेत रहेकी उनीमाथि घुसखोरी, बैंकका नीति नियमको उल्लंघन र रकम हिनामिना गरेको आरोप छ । उनले ११ वर्षको अवधिमा भियतनामको ठूलो बैंक साइगोन कमर्सियल बैंकबाट २७ अर्ब घोटाला गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

लानले उक्त बैंकबाट ४४ अर्ब डलर ऋण लिएको तर २७ अर्ब फिर्ता गर्न कठिन हुने अभियोजनकर्ताहरूले बताएका छन् ।

Advertisement

देशमा अहिलेसम्मकै सबैभन्दा धेरै घोटाला भएको यस घटनामा ४२ हजार पीडित छन् । अभियोजनकर्ताहरूले लानसँग सम्बन्धित एक हजार सम्पत्ति जफत गरेको छ ।

बिबिसीका अनुसार यसमा २७ सय जना मानिसहरूको बयान लिइएको थियो। १० जना अभियोजनकर्ता र करिब २०० जना वकिलहरू यस मुद्दामा संलग्न छन् ।

लानविरूद्ध बरामद भएका प्रमाण १०४ वटा बाकसमा थिए । जसको तौल ६ टन रहेको समाचारमा उल्लेख छ ।

हो चि मिन सहरकी लानले आमासँग आफ्नो व्यापारिक यात्रा कस्मेटिक्स सामग्री बेचेर सुरू गरेकी थिइन् । सन् १९८६ देखि उनले घर जग्गा जोड्न थालिसकेकी थिइन् । सन् १९९० सम्म आइपुग्दा उनले थुप्रै होटल तथा रेष्टुरेन्टहरू खडा गरिसकेकी थिइन् । सन् २०११ सम्म लान एक परिचित व्यापारीको रूपमा उदाइसकेकी थिइन् । उनले त्यतिबेला तीन वटा साना बैंकलाई मर्ज गरी साइगोन कमर्सियल बैंक खडा गरिन् ।

भियतनामी कानुनअनुसार कुनै पनि व्यक्तिले बैंकको ५ प्रतिशत शेयर भन्दा बढी राख्न पाइँदैन । तर उनले सयौं नक्कली कम्पनी र मानिसहरू खडा गरी बैंकको ९० प्रतिशत बढी शेयर आफ्नो नाममा गरेको अभियोजनकर्ताहरूले बताएका छन् ।

उनले त्यही शक्तिको प्रयोग गरी आफ्नै मान्छेलाई व्यवस्थापक बनाएको र उनकै आदेशमा आफ्ना कम्पनीहरूका नाममा ऋण प्रवाह गरेको पाइएको हो ।

सन् २०१९ फेब्रुअरीदेखि आफ्ना सवारी चालकलाई १०८ ट्रिलियन भियतनामी डोङ (४ अर्ब अमेरिकी डलर) नगद निकाल्न लगाएको र आफ्नो बेसमेन्टमा लुकाएको अभियोजनकर्ताले आरोप लगाएका छन् ।

छानबिन नगरियोस् भनेर उनले विभिन्न व्यक्तिहरूलाई घुस समेत दिएकी हुन् । उनले केन्द्रीय बैंकका चिफ इन्स्पेक्टरलाई ५० लाख अमेरिकी डलर दिएको आरोप छ ।