साकेला । गाउँपालिका प्रमुख रवि प्रकाश राईले कानून सबैका लागि बराबर र अन्धो हुने बताए । सोमबार एक कार्यक्रममा बोल्दै उनले देशमा कानून अन्धो हुनुपर्नेमा हाम्रो देशको कानूनले ठूला मान्छे, आफ्ना मान्छे, पैसावाल र दुष्मन पराईलाई देख्ने र आफ्नालाई जोगाएर पराईलाई कारवाही गर्ने गलत परम्पराको अन्त्य गरि कानून सबैका लागि बराबर र अन्धो हुन्छ भन्ने प्रमाणित गर्न खोजिरहेको बताएका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङले गाउँपालिकाको सभाहलमा आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई र दुर्व्यसनी विरुद्ध आमाहरु विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपस्थित अध्यक्ष राईले भने, ‘कानून अन्धो हुन्छ, त्यसैले कानुनका आँखाले कसैलाई देख्दैन । हामी कानून अन्धो बनाउन नीति र कार्यविधि बनाईरहेका छौं, र हामीले बनाएका कानुन र नीति, नियम तथा कार्यविधिलाई अक्षरस पालना गर्न थालेपछि कसैलाई नचिन्ने र सबैलाई समान व्यवहार गर्नेछ ।’
गाउँपालिका सरकारले गरिरहेको शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार, कृषि लगायतका विविध क्षेत्रमा भूगोल, जातजाति, राजनैतिक आस्था, वर्ग, लिङ्ग, क्षेत्रको आधारमा कसैलाई पनि विभेद नगरेको बताउदै उनले सबैलाई समान दृष्टिकोणको नजरले हेरेको बताए । अन्तरक्रियाको अवसरमा नागरिक तहबाट उठेका सवाल जवाफ दिने सन्दर्भमा अध्यक्ष राईले समग्र पालिकाको विकासको लागि सम्पूर्ण निर्वाचित प्रतिनिधिहरुले काम गरिरहेको र पालिकाभित्र हुने हरेक विकास निर्माणको काममा अवरोध नपुर्याई सकारात्मक सहयोग पुर्याउन आग्रह समेत गरे ।
कार्यक्रममा सहभागी भएका अधिकांश नागरिकहरुले भवितव्य परि ज्यान गुमाएका, आत्महत्या, दुर्घटनाका कारण ज्यान गुमाएका व्यक्तिहरुको शव परीक्षणका लागि सदरमुकाम सम्म पुर्याउँदा वर्षादको समयमा अत्यन्तै समस्या हुने गरेको र पारिवारिक रुपमा समेत आर्थिक समस्याका कारण आफन्त गुमाएका परिवारलाई थप पीडावोध हुने गरेको गुनासो गर्दै पालिकास्तरमा पोष्टमार्टम गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

त्यस्तै, जङ्गली जनावर बाँदरको कारण दिनप्रतिदिन बसाईसर्नेहरुको संङ्ख्यामा वृद्धि भएको बताउँदै बाँदरबाट कृषि उपज अन्नबाली जोगाई कृषकलाई सहज तरिकाले जीवनयापन गराउने वातावरण तयार गर्न समेत सहभागिहरुले माग राखेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले प्रहरीले गर्ने हरेक काममा नागरिकको सहयोग आवश्यक पर्ने बताएका छन् । ‘प्रहरीले कानून बनाउने हैन बनेका कानूनलाई पालना गराउने काममा सहयोग गरिरहेको हुन्छ’, उनले भने, ‘नागरिक आफै पनि बिना बर्दीको प्रहरी हो, समाजमा भईरहेका विकृति र विसङ्गति विरुद्धमा नागरिक तहबाटनै खबरदारी गरि सचेतना फैलाई जागरुक बन्न सके अपराध रोकथाममा टेवा पुग्छ ।’
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, पूर्व सांसद कूलप्रसाद फुयाँल, सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर बम लगायतले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
नागरिकहरुको तर्फबाट साकेला माविका प्रअ शिवेन्द्र कुमार राई, सरस्वती माविका प्रअ शितल राई, गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राई, नेकपा एमालेका नेता दूधराज तामाङ, शिक्षक ईन्द्रकुमार तामाङ, नेपाली काँग्रेस कोशी प्रदेश सदस्य शान्तिकला राई, उद्योग वाणिज्य संघको तर्फबाट जगबहादुर श्रेष्ठ, स्थानीयबासीहरु मनोज खत्री, भोलाप्रसाद फुयाल, कल्याण कुमार राई लगायतले साकेला गाउँपालिकाभित्र भएका नागरिकको विभिन्न समस्या र सोको समाधानबारे आ–आफ्नो सुझाव र प्रश्न राखेका थिए ।




