काठमाडौं। महिला उद्यमीहरू अप्सरा बर्तौला र अनिता बर्तौलाद्वारा सञ्चालित ‘अनुज कलेक्सन’ नामक बुटिक उद्योग सुरु भएकाे छ । बिहीबार नेपाली कांग्रेस महासमिति सदस्य तथा बागमती प्रदेश सरकारकी पूर्वमन्त्री कल्पना नेपालीले उक्त बुटिकको उद्घाटन गरेकी हुन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा बिहिबारदेखि सञ्चालनमा आएको बुटिकले देश तथा विदेशमा रहेका नेपाली महिलाहरूका लागि अडरअनुसारका पोशाक उपलब्ध गराउने लक्ष्य राखेको सञ्चालक मध्येकी अनिता बर्तौलाको भनाई छ।
बुटिक सञ्चालन गर्नुको उद्देश्यबारे अनिताले भनिन्, ‘हामीले देश तथा बिदेशमा रहेका महिलाहरूका लागि हामीले स्वरोजगारलाई प्रमोट गर्न र आत्मनिर्भर बन्नका निम्ति यो बुटिक सञ्चालन गरेका हौं। यस व्यवसायलाई व्यापक बनाउनका निम्ति प्रयास गर्नेछौं। खासगरी अमेरिका, अष्टे«लिया, युके, जापानलगायतका देशमा पनि हाम्रो बुटिकले उपलब्ध पोशाक निर्यात गर्नेछ। अनलाईनमार्फत अडर गर्न सकिने छ।’ उनले अगाडि भनिन्, ‘हामीले यो व्यवसायबाट कमाएको नाफालाई पढ्नबाट वञ्चित गरिब तथा विपन्न बालबालिको लागि प्रदान गर्नेछौं। आत्मनिर्भर बन्ने, स्वरोजगार हुने र समाजसेवा गर्ने हाम्रो मुख्य लक्ष्य रहेको छ।’
अर्की संचालक अप्सरा खाली समयकाे पनि सदुपयोग हुने साथै प्राप्त भएकाे नाफाबाट सामाजिक काम गर्ने लक्ष रहेकाे बताउँछिन् । ‘हामी पनि स्वराेजगार हुने र अन्य केहीलाई पनि राेजगारी दिने लक्ष हाम्रो हाे’, उनी भन्छिन् ।
बुटिकको उद्घाटन गर्दै पूर्वमन्त्री नेपालीले महिलाहरू उद्यमशिल बन्ने कुराले राज्यलाई नै फाइदा हुने बताइन्। उनले भनिन्, ‘यसरी घरमै बसेर अनलाईनमार्फत देश तथा विदेशमा रहेका महिलाका निम्ति आवश्यक अडर अनुसारका पोशाक उपलब्ध गराउने उद्देश्य राख्नु भएको छ। कमाएको नाफा विपन्न बालबालिकाको लागि प्रदान गर्ने कुरा सह्रानिय छ। यो सबैभन्दा राम्रो कुरा हो।’
बिदेश पलायनकाे डरलाग्दो अवस्थामा आमा छाेरीकाे याे प्रयास प्रसंसनीय छ । यस्ले साना लगानीमा स्वराेजगार हुन सिकाउने साथै स्थानीय स्तरमै केही गर्न सिकाउने पूर्व मन्त्री नेपालीकाे भनाई छ ।