काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तीनवटा टिम रहेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको कोर टिम सहकारी ठगीमा, डोर टिम ढाकछोपमा र पुअर टिम फेसबुकमा सक्रिय भएको बताएका हुन् ।
महामन्त्री शर्माले भने, ‘त्यहाँभित्र एउटा कोर टिम रहेछ । जुन यो गतिविधिमा संलग्न छ । त्यहाँभित्र अर्को डोर टिम रहेछ, जो ढोकामा बसेर ढाकछोप गर्छ । डोर टिम छ ढोकामा बसेर ढाकछोप गर्छ, कोर टिम छ भित्र गएर काम गर्छ । अनि पुअर टिम जो देशभर रास्वपा जिन्दावाद भनेर फेसबुकमा लेखिरहन्छ।’
उनले जिबी राईसहितको समूहले देशका पाँच ठूला सहरमा नियोजित रुपमा ‘स’ बाट नाम आउने पाँच वटा सहकारी खडा गरेर ५० हजार भन्दा बढी बचतकर्ताको रकम अपचलन गरेको उनको दाबी छ । ती पाँच सहकारीबाट गोरखा मिडियामा ८० करोड रुपैयाँ लगानी भएको उनको दाबी छ ।
महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूहरु संसदीय समितिमा खुल्ला बहस गर्न तयार रहेको बताए । केही दिनअघि लामिछानेले कांग्रेससँग बहस गर्न कहाँ आऊँ ? भनि सार्वजनिक कार्यक्रममा प्रश्न गरेका थिए । अन्य ठाउँमा नभएर आफूहरु संसदीय छानविन समितिमा बहस गर्न तयार रहेको महामन्त्री शर्माले जवाफ दिएका छन् ।
महामन्त्री शर्माले जिबी राईको समूहले पूर्व योजना बनाएर पाँच ठूला सहरमा ‘स’ बाट नाम भएका सहकारी दर्ता गरी ठगी गरेको बताए । उनले भने, ‘पाँच वटा सहरको, पाँच वटा सहकारीको ५० हजार बचतकर्ताको ८० करोड रुपैयाँ । ‘स’ बाट उठेका ५ वटा सहकारी, पहिला पूर्वतयारी गरेर सहकारी बनाइराखेर त्यहाँबाट रकम प्रवाह गरिएको छ । काठमाडौंको सुर्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको सहारा, नेपालगञ्जको समानता र विरगञ्जको सानो पाइला ।’