काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य बद्री पाण्डेले कांग्रेसले वर्तमान प्रधानमन्त्रीलाई हटाएर नयाँ सरकार बनाउने कोणबाट अहिले कुनै गृहकार्य नगर्ने बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पाण्डेले यस्तो बताएका हुन् ।
उनले अहिले देशमा रहेका विभिन्न प्रकारका संकटलाई समाधान गर्न र संविधान, व्यवस्थामाथि उठिरहेका प्रश्नहरुको समाधान गर्ने कोणबाट भने एमाले–कांग्रेसबीच सहकार्य हुनसक्ने बताए । एमाले–कांग्रेसबीच वर्तमान सरकार भत्काउने भन्दा पनि यो ब्यवस्थालाई बलियो बनाउने सवालमा सहकार्य हुनसक्ने उनको भनाइ छ ।
सहमहामन्त्री पाण्डेले भने, ‘कांग्रेस–एमाले मिल्ने भनेको वर्तमान प्रधानमन्त्रीलाई हटाएर नयाँ सरकार बनाउने, नयाँ प्रधानमन्त्री बनाउने । यो कोणबाट छलफल अगाडि बढ्न हुँदैन । दुईवटा मिल्ने भनेको त्यस्तो विषयमा मिल्ने, देशमा संकट आइरहेको छ । व्यवस्था र संविधानमाथि प्रश्नचिन्ह उठ्न थालेका छन् ।’
व्यवस्थाको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले कांग्रेस र एमाले भनेको ०४६ सालपछि मूल शक्तिहरु भएको बताए । उनले भने, ‘एक प्रकारले यो व्यवस्थाको संस्थापन नै हुन् । हाम्रो मेलमिलाप चाहीँ सत्ता बनाउन र भत्काउन भन्दा पनि यो सिस्टमलाई बलियो बनाउने हिसाबले छलफल यदि हुन्छ भने त्यो सकारात्मक कुरा हो भन्ने कोणबाट कुरा आएको छ । त्यसलाई म पनि सकारात्मक मान्छु ।’