गुल्मी । सत्तारुढ दल नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले हालको गठबन्धनबाट राजनीतिक स्थायित्व कायम हुने बताएका छन् । राजनीतिक स्थिरताका लागि एमाले–माओवादी लगायत दलको गठबन्धन बनेको उनको भनाई छ ।
शुक्रबार प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पुरा हुने बताए ।
थापाले यसअघिको कांग्रेस–माओवादी गठबन्धन सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा थप आर्थिक संकट निम्त्याएकाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर एमालेसँग सत्ता साझेदारी गरेको पनि बताए । ढिलै भए पनि प्रधानमन्त्रीले एमालेसँगको गठबन्धनबाट देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने बुझेको उनले बताए ।
आदिवासी लोकतान्त्रिक जतजाती महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनका लागि थापा गुल्मी पुगेका थापाले कांग्रेसलाई पुँजीपतीको आरोप लगाउँदै गत वर्ष श्रमजीवीको गठबन्धन भत्काएर हाल पुरानै गठबन्धन बन्नु राजनीतिक रुपमा सफल भएको बताए । अहिलेको वाम गठबन्धन भत्काउन विभिन्न प्रयास हुने भन्दै उनले त्यसतर्फ सजग हुनुपर्ने बताए ।




