काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्नेलाई सरकारले नछाड्ने बताएका छन् । बिहीबार बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अभियान सञ्चालन गर्नेलाई सरकारले छुट नदिने चेतावनी दिएका हुन् ।
मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताए ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नतिर्न भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको जानकारी दिए ।
पुनले निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरूद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबल गिर्न नदिने बताए ।
उनले मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेण्टी गर्न सके मात्रै बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको बताउदै उनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न र अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे । गठबन्धन परिवर्तनका कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुने पनि स्पष्ट पारे।