साकेला । खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको पर्यटन पूर्वाधार निर्माण गर्ने विषयमा सँस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती सकारात्मक बनेका छन् । तावातालसँगै सो क्षेत्रमा निर्माण गरिने विभिन्न जातजातिको साँस्कृतिक बस्ती, धार्मिक पार्क निर्माण गर्ने विषयमा मन्त्री किराँती सकारात्मक बनेका हुन् ।
नेकपा माओवादी केन्द्रीय सदस्य तथा पूर्व सांसद समिता कार्की ‘अस्मिता’, साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ सहितको टोलीले बुधबार मन्त्रालयमै पुगेर मन्त्री किराँती समक्ष तावाताल र सो क्षेत्रमा निर्माण गरिने पर्यटकीय भौतिक पूर्वाधार निर्माणमा भईरहेको ढिलासुस्तीको विषयमा जानकारी गराएका थिए । जानकारी पश्चात मन्त्री किराँतीले सो क्षेत्रमा निर्माण हुने पर्यटन पूर्वाधारको काम अगाडि नबढ्नुको कारणबारे बुझेर प्रकृया अघि बढाउने बताएका हुन् ।
तावाभञ्ज्याङमा तावाताल निर्माणको लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैंया बजेट प्राप्त भएको छ । पर्यटन मन्त्रालयबाट प्राप्त सो बजेटबाट ताल निर्माण गर्न नपाईने भएपछि गाउँपालिकाले शीर्षक परिवर्तन गरि सो क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणसँगै ताल निर्माण गर्नेगरि डिपिआर तयार गरेको छ । सो आयोजनालाईलाई बहुवर्षिय आयोजना बनाई छ करोड रुपैंया बराबरको पर्यटन पूर्वाधार तयार गरिने गरि डिपिआर तयार भए पनि हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन । पर्यटन पूर्वाधार निर्माण गर्नेगरि यसअघिनै ठेक्का आह्वान भईसक्नुपर्नेमा हालसम्म पनि ठेक्का प्रकृया अघि बढ्न नसकेको हो ।
सो क्रममा पर्यटनमन्त्री किराँतील भने, ‘म अहिले पर्यटनको ढोका र चाभीहरुबारे सुत्र तयार गर्दैछु, पर्यटनको तीन ढोकाहरु हुन्छन् कल्चर, नेचर र एडभाञ्चर तर त्यसलाई खोल्ने चाभीहरु चाँही के के हुन् त ढोका देखियो तर खोल्ने चाभी के हो, समृद्धिको गन्तव्यमा पुग्न पर्यटनको ढोका खोल्ने चाभीको खोजी गरिरहेको छु । सँस्कार र सँसकृतिलाई मात्र पनि ब्राण्डिङ गर्न सकियो भने पर्यटनको ढोका खोल्न सकिन्छ र सोबाट समृद्धिको गन्तव्यमा पुग्न सकिन्छ ।’
छलफलकै क्रममा माओवादी केन्द्रीय सदस्य समिता कार्की अस्मिताले समग्र समाज, जिल्ला र देशलाई फाईदा पुग्ने काममा कोही कसैले अवरोध पुर्याउन नहुने बताइन् । ‘पूर्वग्राही ढंगबाट योजना असफल बनाउन कोही लाग्नुभएको हो भने त्यसले सफल भइँदैन ।’ उनले समन्वय गरेर प्रक्रिया अघि बढाईदिन मन्त्रीसमक्ष आग्रहसमेत गरिन् ।
भेटघाटको क्रममा साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भने, ‘तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय हब बनाउन विगत सरकारले सुरु गरेका विकासका कार्यलाई निरन्तर अघि बढाउन वर्तमान सरकार प्रयत्नशिल छ, तावाताल निर्माणको कार्यलाई प्राथमिकतामै राखिएको छ ।’
सहिद पार्कलाई संरक्षण गरि दशवर्षे जनयुद्ध झल्कने संरचनाहरु तयार गरिने र मुन्धुम ट्रेललाई संरक्षण गरि पर्यटन पूर्वाधार निर्माण गर्नेगरि डिपिआर तयार भएको अध्यक्ष राईले बताए ।