पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा संचालित यासोक सुख्खाक्षेत्र तमोर पंम्पिङ खानेपानी योजना फेरि अवरुद्ध भएको छ । कुम्मायक-५ स्थित लुम्बुघाटको इनारमा इनटेक पंम्प जलेर पानी सप्लाइ हुन नसकेपछि अहिले खानेपानीको चरम हाहाकार मच्चिएको हो ।
तमोर नदिले आफ्नो बहाव धार परिवर्तन गर्दा इनारमा पानीको सतह घटेको कारण पंम्पले बालुवा र पानी एकै साथ तानेपछि पंम्प जलेको खानेपानीको उपभोक्ता समितिले जनाएको छ ।
पंम्प जलेपछि कुम्मायक गाउँपालिकाको चार वडाका करिब २२ सय घरधुरी प्रभावित बनेका छन् ।
११ मिटर गहिरो इनारमा पानीको सतह डेढमिटर मात्रै भएपछि पंम्पमा क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौलाले बताए। तत्काल समस्या समाधानको लागि पंम्प खरिद र छुट्टै इनार निर्माण गर्न संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलाम समक्ष माग गर्दा पनि माग सुनुवाइ नभएको निरौलाको भनाइ छ ।
उपभोक्ता समितिसँग आन्तरिक श्रोत नभएकाले पंम्प खरिदको लागि राज्यको दोस्रो गौरवको यो आयोजनाको समस्याप्रति उत्तरदायी बन्न संघीय खानेपानी कार्यालय इलामको भर मात्र नभएर वर्तमान सरकारको दायित्वसमेत भएको समितिका महासचिव जकेन्द्र लावतीले बताए। यस खानेपानी आयोजना सन्चालनमा आर्थिक चुनौती हुँदाहुँदै यसपटक २५ लाख मुल्यको हाराहारीमा क्षति बेहोर्नु परेको पनि उनले बताए ।
यता खानेपानीको तत्काल समस्या हल गर्न कुम्मायक गाउँपालिका र उपभोक्ता समितिले स्थलगत अनुगमन गरी इनार भित्रको बालुवा हटाउने र नदिको वहाब सतहलाई इनारतर्फ फर्काउने काम भइरहेको गाउँपालिकाका प्रवक्ता देबेन्द्रकुमार लावतीले बताए ।
खानेपानीमा देखिएको समस्या हल गर्न एक साता भन्दा बढी समय लाग्ने भएपछि फेरि पुरानै घाउ बल्झेर नागरिक काकाकुल बनेका छन्। यतिबेला डिपबोरिङ्को आयोजनाले खानेपानीको समस्या धान्ने अवस्था छैन । नागरिकले पानी किन्न थालेका छन् भने एक गाग्री खानेपानी ल्याउन घण्टौ समय खर्चेर कुवा धाउन थालेको स्थानीय कर्ण सम्बाहाम्फे बताउछन् ।
उक्त समस्या तत्काल हल गर्न गाउँपालिका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती, वडा नम्बर ४ का वडाअध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फे, वडा नम्बर ५ का वडाअध्यक्ष निर्मलराज घिमिरे र इलाका प्रहरी कार्यालय यासोकका वरिष्ठ सई सन्तोष गौतम लगायतको टोलीले पटकपटक स्थलगत अनुगमन गरिरहेका छन् ।