भक्तपुर । आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०र८१ सुरु भएको छ । अभियानलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शुभारम्भ गरेका छन् ।
भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको अभियान उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई खोप तथा खोप सामग्री हस्तानतरण गरी देशभर एकैसाथ अभियानको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आगामी सन् २०२६ भित्र नेपाललाई दादुरा–रुबेला उन्मूलन गर्ने सरकारको लक्ष्य हासिल गर्न देशभरका स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय तह र सरोकारवाला निकायले साथ र सहयोग गर्न आग्रह गरे ।
खोप अभियान आजबाट सुरु भई चैत ७ गतेसम्म सञ्चालन हुने छ । यो अभियान प्रभावकारी ढङ्गले देशैभरी सञ्चालन हुनेमा आफू विश्वस्त रहेको भन्दै मन्त्री बस्नेतले कर्मचारीले इमान्दारिपूर्वक काम गर्न आग्रह गरे ।
तराई र काठमाडौँ उपत्यका दादुरा–रुबेलाको उच्च जोखिममा रहेको भन्दै मन्त्री बस्नेतले पहिला खोप लगाएकाहरुले पनि पुनः खोप लगाउन र खोप लगाउन छुटेकालाई पनि पहिचान गरेर खोप लगाउन निर्देशन दिए ।
यस्तो छ अभियान
दादुरा–रुवेलाको उच्च जोखिममा रहेका तराईका २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिका र बाँकी ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्म उमेर समूहका बालबालिकालाई खोप लगाइनेछ ।
कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा एवं परिवार कल्याण महाशाखा प्रमुख डा अभियान गौतमले नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार छ सय ८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार तीन सय १० बालबालिका गरी कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको जानकारी दिए ।
खोप अभियानका लागि देशभरि ४९ हजार नौ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार नौ सय ६ जना स्वयमसेवक परिचालन गरी देशभरका ४८ हजार सात सय ९८ खोप केन्द्रबाट खोप लगाइने उनले बताए । यस अभियानमा खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् ।
खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता समस्या देखिए नआत्तिन आग्रह गरिएको छ । यस्तो समस्या देखिए समाधान गर्न प्रत्येक जिल्लास्तरमा आकस्मिक उपचार टोलीसमेत गठन गरिएको छ । तराईका झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौँ, भक्तपुर, ललितपुर जिल्ला दादुराको उच्च जोखिममा रहेकाले यी जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको बताइएको छ ।
खोप अभियानमा गाभीको सहयोगमा सञ्चालन हुन लागेको हो । अभियानमा गाभी, युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको सहयोग रहेको छ । अभियानका लागि एक अर्ब १२ करोड ६७ लाख बराबरको सहयोग रहेको र नेपाल सरकारले २३ करोड २१ लाख गरी एक अर्ब ३५ करोड बराबर खर्च हुने बताइएको छ ।