काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनहरूमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने प्रस्ताव महासमिति बैठकमा पेस गरेका छन् । मंगलबार पार्टीको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्ने क्रममा थापाले यस्तो प्रस्ताव पेस गरेका हुन् ।
महामन्त्री थापाले सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न रुखवाला मतपत्र हुने सुनिश्चित गर्नुपर्ने बताए । वर्तमान सत्तारुढ गठबन्धन संविधान रक्षाका लागि बाध्यात्मक अवस्थाको उपज भएको बताउँदै उनले आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
थापाले भने, ‘कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्य, सुभेच्छुक तथा आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौं । हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’
त्यसका लागि कांग्रेसको संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनतामा कांग्रेसप्रति विश्वास जगाउनुपर्ने थापाको भनाइ छ ।
प्रतिवेदनमा थापाले गठबन्धन नगर्ने कुरा राखेपछि सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाएका थिए । तर थापाको प्रतिवेदनमा वर्तमान सत्तारुढ गठबन्धनलाई भने प्रतिनिधिसभाको वर्तमान कार्यकालभर कायमै राख्नुपर्ने कुरा उल्लेख गरिएको छ ।