काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हालको शासकीय व्यवस्थाप्रति अपनत्व नभएको बताएका छन् । पार्टीको महासमिति बैठकमा नीति प्रतिवेदन पेश गर्दै उनले नयाँ दलहरु दायित्व र जिम्मेवारीबाट पन्छिने, कुनै विषयमा प्रष्ट दृष्टिकोण नभएको तर लोकप्रियताका लागि जे पनि बोल्ने गरेको टिप्पणी बताएका हुन् ।
‘त्यही लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन । न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य । न त लोकतन्त्रप्रतिको प्रतिवद्धता छ, न त भावी यात्राको प्रष्ट मार्गचित्र नै’ खड्काले प्रतिवेदनमा लेखेका छन् ।
संक्रमणकालीन न्याय निश्कर्षमा नपुग्दा नागरिकले दुःख पाएको बताउदै उनले पेश गरेको नीति प्रस्तावमा राजनीतिक स्थायित्व, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दाे र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा संक्रमणकालीन अवस्था लम्बिइरहेको उनले उल्लेख गरेका छन् ।
उपसभापति खड्काले सत्यनिरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न नसकेका कारण तीन तहको सरकारबाट अपेक्षा गरिएजस्तो छिटोछरितो सेवा प्रवाह हुन नसकेको बताए । उनले समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानून परिवर्तन गर्न नसक्दा र टिआरसी विधेयक नटुंगिदा नागरिकका दुःख तथा कष्टमा आशा गरेअनुसार सुधार आउन नसकेको पनि बताए ।