साकेला । साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अपाङ्गताका कारण पीडित भएकी एक बालिकालाई घरमै पुगेर ह्वील चियर प्रदान गरेका छन् । शुक्रबार अध्यक्ष राईले साकेला गाउँपालिका–२ रतन्छा रुम्बुलाको सात वर्षिय सृष्टि राईलाई घरैमा पुगेर ह्वील चियर हस्तान्तरण गरेका हुन् ।
यसअघि अध्यक्ष राईले आफ्नो जन्मदिनको अवसर पारेर गत माघ २४ गते बुधबार साकेला गाउँपालिका २ रतन्छा निवासी चन्द्रकला राईलाई घरमै पुगेर ह्वील चियर हस्तान्तरण गरेका थिए ।
यसरी वितरण गरिएको ह्वील चियरले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनमा सहज हुने अपेक्षा गरिएको छ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गको क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन नेपाल र साकेला गाउँपालिकाको सहकार्यमा उक्त ह्वील चियर वितरण गरिएको हो ।
उक्त ह्वील चियर प्रदान गदैं अध्यक्ष राईले भने, ‘नागरिकलाई परेको समस्याप्रति साकेला गाउँपालिका सरकार संवेदनशिल छ । सम्भव भएसम्म यसरी नै घरघरमा पुगेर नागरिकको समस्या समाधान गर्ने प्रयत्न सरकारको तर्फबाट गरिने छ । गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा परिवारको लागि गाउँपालिका सरकारको तर्फबाट थप कार्यक्रम बिस्तार गर्दै लगिने छ ।’
साकेला गाउँपालिकामा रहेका अपाङ्गताको क्षेत्रमा करुणा फाउण्डेसनले पालिकासँग सम्झौता गरि यस वर्षदेखि काम गरिरहेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुरु गरेको कार्यक्रममा तीन पक्षीय लागत साझेदारीमा कार्यक्रम भईरहेको छ । साकेला गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसन नेपालको ३३%, ३३% लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघकको प्राविधिक सहयोगमा यस गाउँपालिकामा कार्यक्रम सञ्चालन भईरहेको छ ।
यस कार्यक्रमले जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका व्यक्तिको पुनः स्थापना लगायतका कार्यक्रम गर्ने छ साथै अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्ने छ । ३ वर्ष सम्म चल्ने सो कार्यक्रम २०८० माघ १ गतेबाट शुरु भएको हो भने २०८३ पुष मसान्तसम्म संचालन हुनेछ ।
यस कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्नु र अपाङ्गता भएका ब्याक्तिहरुको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने रहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको भनाई छ । सम्झौता अवधि समाप्त भएपश्चात दीर्घकालीन रूपमा कार्यक्रम यस गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै लगिने उनको भनाई छ ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार साकेला गाउँपालिकामा मात्रै २७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् भने १०४ जनाले पूर्ण र अति अशक्त अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।