काठमाडौं । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा हंगामा गरेको छ। प्रतिष्ठान समितिले प्रकाशित गरेको ‘अग्र अनुहार’ पुस्तकमा इतिहास मेटाउने प्रयास भएको भन्दै फोनिजले कार्यक्रमस्थलमै विरोध गरेको हो ।
यसअघि एक प्रेस विज्ञप्ति जारी गर्दै फोनिजले तत्कालीन नेपाल पत्रकार संघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको तथ्यलाई नामेट पार्ने कोसिस पत्रकार महासंघले गरेको आरोप लगाएको थियो ।
पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेशले पत्रकार महासङ्घका अध्यक्षहरुको जीवनी समावेश गरेर ‘अग्र अनुहार’ नामक पुस्तक प्रकाशन गर्न लागेको र उक्त पुस्तकमा गलत तथ्यकै आधारमा संस्थापक अध्यक्षको विषय समावेश गरिएको भन्दै विज्ञप्तिमार्फत सो प्रकाशन रोक्न माग गरेको थियो ।
सोही पुस्तक विमोचन हुने तयारी अवस्थामा फोनिजले नियन्त्रणमा लिएर च्यात्ने काम समेत गरेको छ । पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रम हलभित्र पसेर फोनिजले हङ्गामा मच्चाएको हो ।
फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले महासंघले इतिहास मेटाउने काम भएकाले आाफूहरुले त्यसको विरोध गरेको बताए । २००८ वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठ महासंघ (तत्कालीन पत्रकार संघ) को अध्यक्ष भएका थिए । तर महासंघले प्रकाशन गरेको पुस्तकमा त्यसको कुनै पनि चर्चा नरहेका कारण आफूहरूले कार्यक्रम अवरुद्ध गर्नुको साथै पुस्तक पनि च्यातेको उनको भनाइ छ ।
महासंघले प्रकाशन गरेको पुस्तकमा संस्थापक कृष्णप्रसाद भट्टराईलाई मानिएको छ । उनीलगायत अन्य अध्यक्षको संक्षिप्त जीवनी उल्लेख गरेको छ । त्यसमा सत्यनारायण बहादुर श्रेष्ठको कहीँकतै उल्लेख नहरेको भन्दै फोनिजले विरोध गरेको छ ।
फोनिजले त्यो पुस्तक बजारमा जहाँ देखिन्छ त्यही जलाउने निर्णय पनि गरेको छ । यसको विरुद्धमा आन्दोलन निरन्तर चलिरहने र देशैभर आन्दोलन चलाउने बताइएको छ ।
प्रतिष्ठान प्रदेश कमिटीका उपाध्यक्ष वीरेन्द्र अोलीले होहल्लाकै बिचमा पुस्तक विमोचन भएको बताए ।महासंघको संस्थापकको विषयलाई लिएर विवाद भएको, तर महासंघको विधान तथा अन्य दस्तावेजले सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक नमानेको महासंघको निर्देशन बमोजिम र त्यहाँको दस्ताबेजको आधारमा यो पुस्तक प्रकाशन गरेको उनको भनाइ थियो ।
विवाद उत्पन्न भएपछि ‘अग्र अनुहार’ पुस्तकको लोकार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा कार्यक्रममा सहभागी भएनन् ।